नेपाल-भारत सिमानामा ६ को मृत्यु, हैजाको हमला

नेपाल-भारत सिमानामा ६ को मृत्यु, हैजाको हमला

-मनिष गुप्ता

कपिलवस्तुमा फैलिएको झाडापखाला अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण पाँच बालबालिकासहित ६ जनाले ज्यान गुमाइसकेका छन् । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन ।

अस्पतालका अनुसार अहिले पनि दिनहुँ २० देखि २५ जना बिरामी उपचारका लागि आउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शिवराज अस्पतालमा हाल उपचाररत झाडापखालाका बिरामीको संख्या १२ रहेको छ । उपचारका लागि आएका बिरामीको संख्या ९ सय २४ पुगेको छ ।

“तीन बालबालिकासहित चार जनाको ज्यान गएको तथ्याङ्क दिइए पनि बिरामी र मृतकको संख्या लुकाइएको स्थानीयले आरोप लगाएका छन् ।”

तीमध्ये सिकिस्त ४१ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ । तीन बालबालिकासहित चार जनाको ज्यान गएको तथ्याङ्क दिइए पनि झाडापखालाका कारण बिरामी परेका बिरामीको वास्तविक संख्या र मृतकको संख्या लुकाइएको स्थानीयले आरोप लगाएका छन् ।

जिल्लाको कृष्णनगरपछि यशोधरामा पनि झाडापखालाका बिरामी बढेका छन् । झाडापखालाकै कारण एक जनाको ज्यान समेत गएकोमा जनस्वास्थ्यले उक्त तथ्याङ्क सार्वजनिक नगरेपछि स्थानीयले आशंका गरेका हुन् । यशोधरा गाउँपालिकाको वडा नम्बर ७ र ८ मा झाडापखालाका बिरामी २ सय ६३ पुगे पनि अहिलेसम्म संख्या सार्वजनिक गरिएको छैन ।यता वाणगंगामा पानीको जाँच गराएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले नै अफवाह फैलाएको बताइन्छ । कृष्णनगरस्थित शिवराज अस्पतालमा शुरुमा झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेपछि शैया अभाव भएको थियो ।

त्यसबेला अस्पताल परिसरमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो । कृष्णनगर आसपास झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जीवाणु फेला परेको छ ।

हैजा पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कृष्णनगरमा हैजा फैलिएको पुष्टि गरेको छ । गत असोज १८ गतेदेखि कृष्णगनरको ५, ६, ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएपछि गरिएको दिसाको नमूना परीक्षणमा यस्तो जीवाणु फेला परेको हो ।

विश्व स्वास्थ्य संगठनको समन्वयमा २१ जना बिरामीको दिसा संकलन गरी परीक्षण गर्दा सो तथ्य फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४ जनामा हैजाको जीवाणु फेला परेको छ । २१ नमूनामध्ये ५५ वर्षीय २ जना पुरुष,७२ वर्षीय एक पुरुष तथा ५ वर्षीया बालिकामा जीवाणु भेटिएको हो ।

यता सर्वसाधारणले भने जिल्ला जनस्वास्थ्य कार्यालयका हाकिम हेमराज पाण्डेले वास्तविक तथ्याङ्कलाई फेरबदल गरेको आरोप लगाएका छन् । जिल्लाका तीन वटा स्थानीय तहमा झाडापखालाका बिरामी फेला परे पनि अहिलेसम्म कृष्णनगरलाई मात्र प्रभावित क्षेत्र भनिएको छ ।

सुरक्षालगायतका स्रोतले शिवराज नगरपालिकाको वडा नम्बर ४, ७ र ८ मा समेत झाडापखालाको महामारी उस्तै रहेको बताएको छ । अस्पतालको तथ्याङ्कले यशोधरा गाउँपालिकाको ७ र ८ नम्बर वडामा पनि झाडापखालाका बिरामी बग्रेल्ती देखाएको छ । कृष्णनगरको ५, ६, ७, ८ र ९ मा महामारी फैलिएको हो ।

टिप्पणीहरू