​शीतल निवासले नै सोझ्याउँदा

आइतबार बिहान एउटा चर्चा चल्यो, ‘महन्थ ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले कुरा मिलाए ।’ तर, मिलेको कुरा के थियो ? राजपा सरकारमा सामेल हुने वा नहुने टुंगो नलागे पनि सांसदहरूको शपथग्रहण गराउने व्यक्ति त परिवर्तन भयो ! पहिले प्राविधिक रूपमा ज्येष्ठ देखिए पनि जम्मा ६३ वर्ष मात्र उमेर पुगेका महेन्द्रराय यादवले प्रतिनिधिसभामा सबैलाई शपथ गराउने लगभग निश्चित थियो । नागरिकताले मात्र उनलाई ८० देखाएको हो । वास्तविक जेठो त महन्थ ठाकुर नै हुन् । बरु, दोस्रोमा पर्छन् शेरबहादुर देउवा ।

अन्त्यमा राजपाकै नेतासँग समन्वय गरेर राष्ट्रपति कार्यालयले आपत्ति जनाएपछि प्रधानमन्त्री र महान्यायाधिवक्तासँग समेत सल्लाहपश्चात् महन्थबाट शपथ गराउने काम हुन पुग्यो । स्रोतका अनुसार राजपा नेता शरत्सिंह भण्डारीले महेन्द्र यादवलाई सम्झाई बुझाई गरेका थिए भने स्वयं प्रधानमन्त्रीले हकले पाएको यो अधिकार प्रयोग गर्न र संसद्को पहिलो बैठकको अध्यक्षता गर्न महन्थलाई आग्रह गरेका थिए ।

कनिष्ठबाट ज्येष्ठले शपथ खाँदा भोलि मुद्दा पर्न सक्छ र पटक–पटक शपथको आयोजना गर्नुपर्ने हुन सक्छ भन्दै त्यसो नगर्न राष्ट्रपति कार्यालयले पनि सुझाव दिएको स्रोत बताउँछ । यसरी मुद्दा हाल्न नेपालका वकिललाई कसैले सिकाइरहनु नपर्ने भएकाले यस्तो नगर्न सुझाव दिइएको हुनुपर्छ । परमानन्द झाले हिन्दीमा शपथ खाँदा पहिले पनि अदालतले उल्ट्याएर फेरि उपराष्ट्रपति पदको शपथ लिन आदेश दिँदा लाजमर्दो हालत भएको थियो । 

टिप्पणीहरू