राजधानी काठमाडौं फेरि चल्मलाउन थाल्यो

राजधानी काठमाडौं फेरि चल्मलाउन थाल्यो

दशैंको अवधिभर सुनसान रहेको काठमाडौं उपत्यका पुनः चल्मलाउन थालेको छ । दशैं मनाउन आफ्ना घर र थातथलो गएका सर्वसाधारणहरु मान्यजनबाट टीका लगाएपछि बिस्तारै कर्मथलो फर्कदै छन् ।

विभिन्न पेशा,रोजगारी र व्यापार व्यवसायमा संलग्नहरु अरु बेला नभए पनि दशैंमा घर जाने गर्छन् । दशैंको टीकालगत्तै उनीहरु आफ्नो काममा फर्कन धमाधम काठमाडौं आउन थालेका हुन् ।

त्यसैले हिजोदेखि दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । गाउँघरमा टीका लगाए पनि काठमाडौंमा भएका आफन्तजनबाट टीका लगाउने हतारोका साथ उनीहरु उपत्यका आउन थालेका हुन् ।

राजधानीका कलंकी,बल्खु, कोटेश्वर,बालाजुलगायतका चोकमा दशैं मनाएर राजधानी फर्कनेहरुको भीड देखिन थालेको छ ।

फूलपातीको दिनदेखि बन्द रहेका शहरका पसलहरु सञ्चालनमा आउन थालेका छन् । बन्द रहेका सरकारी तथा निजी कम्पनीका कार्यालयहरु पनि खुलेका छन् । कतिपय खुल्ने क्रममा छन् ।

विद्यालयहरु भने कात्तिकको पहिलो सातादेखि खुल्ने भएको छ । सडकमा सवारी साधनको संख्या पनि बाक्लिँदै गएको छ । तर पनि विगतका वर्षमा भन्दा यो वर्ष थोरै सर्वसाधारण आफ्नो जन्मथलो गएको ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको भनाइ छ ।

टिप्पणीहरू