​जब टकटक बज्न थाल्यो जुत्ता

फरक विचार र भिन्न संस्कार बोकेका दलहरू एक हुन थालेका छन् । त्यहाँ पनि पोर्टपोलियो (मर्यादाक्रम) को लफडा छ । तर, अब एक हुँदा त्यसको व्यवस्थापन हुनु जरुरी छ वा छैन ? शनिबार पहिलोचोटि एमाले र माओवादीको संयुक्त संसदीय दलको बैठक बस्यो वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा । यो एउटा उदाहरण हो । मञ्चमा थिए, पूर्वसभामुखको हैसियतले सुवाष नेम्वाङ र ओनसरी घर्ती । दुई पार्टीका अध्यक्षको हैसियतमा बसेका थिए, केपी ओली र प्रचण्ड । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी र एमाले महासचिव पनि मञ्चमा थिएनन् ।

ईश्वर पोखरेल र बादल अरू सांसदसँगै बसेका थिए । ढिलोगरी पुगेका एमाले उपाध्यक्ष भीम रावल जुत्ताको टकटक आवाजसहित हलमा छिरे र सरासर अगाडि मञ्चमा गएर बसे । नेम्वाङ आफ्ना कुरा राख्दै थिए । रावल मञ्चमा नोट प्याड निकालेर टाइप गर्न थाले । पार्टी उपाध्यक्षलाई कसैले तल जानुस् भन्ने कुरा आएन । त्यो त माथि सिट पनि खाली नै थियो । मञ्चमा बसेकाहरूले एकअर्कालाई मुखामुख गरे । सबै जना सांसद रावलको शैली र कार्यक्रमको व्यवस्थापन देखेर छक्क परे, खासखुस गर्न थाले ।

स्रोतका अनुसार कार्यक्रममा कुनै तालिका थिएन । यसर्थ उनलाई बोल्न दिने कुरा पनि रहेन । उठाउन खोजेको सवाल सिष्टमको हो । आपसी सम्मान र मर्यादाको हो । वास्तविक रूपमा एक भएर अगाडि बढ्ने वातावरण निर्माणको हो । यसैबीच, उता अर्थ मन्त्रालयमा नयाँ सचिव आउने सम्भावना बढेको बताइन्छ । जसमा हालका पर्यटनसचिव कृष्ण देवकोटा, प्रम कार्यालयका सचिव प्रेम राई, युवा, खेलकुदका महेश दाहाल, अख्तियारका राजन खनालमध्ये एकको चर्चा चल्न थालेको हो । 

टिप्पणीहरू