​विष्फोटक पदार्थ बीचैमा…

राष्ट्रिय सुरक्षाको समेत जिम्मेवारी लिएको अति संवेदनशील निकाय नेपाली सेना विकास निर्माणका काममा संलग्न छ । बाटोघाटो निर्माण गर्ने क्रमसँग पनि जोडिएको छ । उसले यस्तो संवेदनशील कुराको जिम्मेवारी पाएको छ कि जसबाट मानवीय जनधनको समेत अपूरणीय क्षति हुन सक्छ । यस्तै ठाउँको एउटा प्रोजेक्टबाट केही विष्फोटक पदार्थ चोरी भएको छ ।

अब कल्पना गरौं जनयुद्धकालमा माओवादीले जसरी सडक विभागका सामग्री लुटेर र पारिबाट खरिदेर सुरक्षा निकाय र सर्वसाधारणलाई क्षति पु¥याउने काम गरेका थिए, त्यसैगरी यदि त्यस्ता सामग्री विप्लव समूह वा कुनै राज्यविरोधीको हातमा पुग्यो भने के होला ? यस्तै एउटा संवेदनशील घटनालाई हालसम्म गुपचुप राखिएको छ । चीनसँग सीमा जोडिएको एक मात्र ठूलो नाका रसुवामा सेनाले सडक विस्तारको काम गरिरहेको छ । त्यही विस्तारका लागि त्यहाँ लगिएको विष्फोटक पदार्थ चोरी भएर राजधानी भित्रिँदै गर्दा १५ गते बेलुका धादिङ–काठमाडौं रुटमा चल्ने बा.३ख ९७१९ नम्बरको बसमा नागढुंगाबाट बरामद भएको हो ।

दैलेखको नौमुरे गाविस–८ घर भएका २४ वर्षीय दशरथबहादुर शाहीसमेत सो पदार्थसहित पक्राउ परेका छन् । हाल उनी थानकोट प्रहरीको हिरासतमा छन् । उनी सुपर पावर ९२ नामक विष्फोटक पदार्थको १२ थान लोला, डेटोनेटर ४४ थान, एउटैमा ४०–४५ मिटरसम्म हुने सेफ्टी फ्युज ६ मुठा, ६ मिटर डोरी, कालो टेप २ पिस, गुलेली २ थानसहित पक्राउ परेका हुन् । आकस्मिक निगरानी र चेकजाँचको दौरान सामान फेला प¥यो नत्र सहजै काठमाडौं भित्रन सक्थ्यो । तर, यो घटनालाई हालसम्म गोप्य राखिएको छ ।

टिप्पणीहरू