घुमेर मात्रै के हुन्छ हजुर !

पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल भ्रमण निकै अर्थपूर्ण रहेको छ । नेपालले नयाँ युगमा फड्को मार्ने प्रयास गर्दै गर्दा यसले आफ्नो कूटनीतिक दायरालाई के–कति फराकिलो पार्न सक्छ वा आफूलाई परम्परागत रूपमा कुनै एक राष्ट्रको अघोषित संरक्षणमै सीमित गर्छ भन्ने प्रश्न यो आकस्मिक भ्रमणले उब्जाएको विश्लेषकहरूले टिप्पणी गरिरहेका छन् । हुन पनि पहिले नै भावी प्रधानमन्त्रीलाई शुभकामना दिन भारतीय विदेशमन्त्रीले गरेको यात्राझैं ‘मात्र शुभकामना तथा बधाईका’ निम्ति भन्दै नेपाल आएका पाकिस्तानी समकक्षी साहिद खकान अब्बासीले एउटा तरंग नै सिर्जना गरेर गएका छन् । नेपालभित्र यो भ्रमणले खासै ठूलो महŒव नपाए पनि उनी सवार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा दक्षिणमा निकै ठूलो भूकम्प आएको स्पष्टै अनुमान गर्न सकिन्थ्यो ।

दक्षिण एसियामा सक्रिय उपस्थिति जनाउने क्रममा उनी नेपाल आएको पाकिस्तानी परराष्ट्र मन्त्रालयले बताउने क्रममा सुरक्षाको विषयसमेत आफ्नो चासोको क्षेत्रमा रहेको उल्लेख गरेको छ । नेपाली भूमिमा पाकिस्तानी नागरिकमाथि पटक–पटक भएका आक्रमण र अपहरणको घटनाले पनि यो भ्रमणमा पक्कै महŒव पाएको हुनुपर्छ । तर, त्योभन्दा महŒवपूर्ण कुरा यो हो कि स्थापनाकालदेखि नै सार्कलाई सकभर आफ्नो हितमा प्रयोग गर्ने र सकिएन भने निष्क्रिय पार्दै जाने रणनीति चिर्न यो भ्रमणले कति भूमिका खेल्ने हो । हालको अध्यक्ष राष्ट्रका रूपमा नेपालले एन्नाइसौं सार्क सम्मेलन जसरी पनि पाकिस्तानमा गराउन पहल गर्नु नै छ भने पाकिस्तानी नागरिक नै सार्कको महासचिव रहेका बेला शिखर सम्मेलन आयोजना गर्न असफल हुनु राम्रो कुरा होइन । तसर्थ सार्क पुनर्जागरणको विषयले दक्षिण एसियाका साना÷कमजोर राष्ट्रहरूलाई सहजै असर पार्ने देखिन्छ ।

मंगलबार सम्पन्न दुईदिने भ्रमणपछि नेपालले अब आफ्नो कूटनीतिक सम्बन्ध आकासीय मार्गबाट पुगिने छिमेकीसँग पनि उत्तिकै महŒवसाथ अघि बढाउनु जरुरी छ जति महŒव यसले सीमा जोडिएका मुलुकलाई दिइरहेको थियो । नेपालले आफ्नो आर्थिक सम्बन्धलाई अलि विस्तार गर्न र आफ्नै भूराजनीतिक अवस्थितिका कारण जोडिएर आउने बाह्य स्वार्थको विश्लेषण गर्नसमेत ढिलाइ गर्नु हुँदैन । एकपछि अर्को गर्दै यदि यो मुलुकमा प्रतिस्पर्धी राष्ट्रका प्रमुखहरूको भ्रमण हुने हो भने त्यसले एउटा परिपक्व कूटनीति माग गर्छ । चाँडै भारतीय र चीनका प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदै छ भन्ने चर्चा चलिरहँदा आकस्मिक रूपमा पाकिस्तानका प्रधानमन्त्री आउनु सामान्य कुरा होइन, नेपालले यो संकेतलाई सही रूपमा बुझ्ने हो भने लाभ हुन्छ । 

टिप्पणीहरू