पहिलो पूर्जी

गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा आएपछि उहाँले पहिलो पुर्जी नै आफ्नो पूर्व मित्र कमरेड नेत्रविक्रम चन्दको नाममा काट्नुभएको छ । नेत्रविक्रम चन्द गएको केही दिनदेखि यताउति बम–सम पड्काएर हिँडिरहेका छन् । गृहमन्त्री थापाले मन्त्रालय छिर्नेबित्तिकै पहिलो वारेन्ट नै चन्दका नाममा काट्दै चेतावनी दिनुभयो – कमरेड, बम–सम पड्काउन छोड्नोस्, खुरुक्क खोरमा आउनुस् ।

अब बम कसरी पड्काइन्छ, त्यो गृहमन्त्री थापालाई थाहा नहुने कुरा हो र ? पहिले माओवादीमा हुँदा चन्दलाई बम पड्काउन सिकाउने नै उहाँ हो । माओवादी जनयुद्धको प्रमुख डिजाइनर नै उहाँ हुनुहुन्थ्यो । हो होइन प्रचण्ड जान्नुहोस् । तर जतिसुकै बम पड्काए पनि अन्तिममा हुनेचाहिँ एमालेसँग एकीकरण नै रहेछ भन्ने कुरा उहाँले राम्ररी बुझिसक्नुभएको छ । 

यस्तो कुरा नेत्रविक्रम चन्दले अझै बुझेको हैन । शायद टाइम लाग्छ होला । मान्छे लडका नै छन् । टाइम त लागिहाल्छ । तर कति टाइम लाग्ने हो ? समस्या त त्यो पो हो । त्यो बेला माओवादीले के मात्र पड्काएन ? सेनाको रकेट लञ्चर लुटेर त्योसमेत पड्कायो । अहिले चन्द माओवादी बमै नभएको प्रेसर कुकर मात्रै सामुन्ने राखेर पनि पड्काउने प्रयास गरिरहेको छ । हजारौं वटा प्रेसर कुकर बम पड्काएपछि मात्रै कमरेड बादललाई थाहा भयो कि यो नाथे प्रेसर कुकर भन्या त खाना पकाउने साधन पो रहेछ ! 

जतिसुकै प्रेसर कुकर बम पड्काए पनि अन्तमा त्यही प्रेसर कुकरमा भात पकाएर खाने हो भन्ने कुरा रामबहादुर कमरेडले भर्खर थाहा पाउनुभयो । कमरेड चन्दलाई चाहिँ कतिवटा पड्काएपछि थाहा हुने हो कुन्नि ?    

टिप्पणीहरू