नेपाल-भारत सिमानामा झाडापखालाबाट ८ सयबढी संक्रमित, ४ को निधन

नेपाल-भारत सिमानामा झाडापखालाबाट ८ सयबढी संक्रमित, ४ को निधन

कपिलवस्तुमा असोज १८ गतेदेखि यता झाडापखालाका कारण हालसम्म ८ सय ८५ जना संक्रमित भएका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको उक्त संक्रमणबाट स्थानीय प्रभावित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्थानीय शिवराज अस्पतालमा २५ जना उपचाररत छन् । आजसम्म ८ सय १९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

झाडापखालाका कारण ४५ वर्षीय पुरुषको घरमै,७ वर्षीय बालकको निजी क्लिनिकमा,५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा बाटैमा निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

केही बिरामीको दिसा परीक्षण गर्दा गर्दा हैजा देखापरेको बताइएको छ । खानेपानीका १५ नमूनामध्ये ९ वटा ठाउँमा पनि संक्रमण देखापरेको छ ।

झाडापखालाबाट बच्न स्थानीयलाई खाना बनाउनु,खानाअगाडि साबुन पानीले मिचिमिची हात धुन,राम्ररी पाकेको खाना मात्र खान तथा बासी वा सडेगलेका खानेकुरा नखान सरकारले अनुरोध गरेको छ । त्यसैगरी पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन पनि सल्लाह दिइएको छ ।

खुला रुपमा दिसा पिसाब नगर्न, दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुन समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू