प्रधानमन्त्रीज्यू, निम्तियो है प्रलय

जिल्लामा जग्गादलालले बाख्रापालनको नाममा खनिज पदार्थ भएको जग्गा किनेका छन् । दुर्गम गाउँमा बस्ने सोझा गाउँले जनतासँग पशुपालन पकेट क्षेत्र बनाउने, बृहत् बाख्रापालन गर्ने भन्दै कौडीको मोलमा खानी भएको जग्गा दलालले हडपिरहेका छन् । नयाँ संविधानअनुसार संघ र प्रदेशका कानुन नबनेको मौका छोपी माफिया र दलाल सक्रिय भएका हुन् । बिचौलिया गाउँमा पसेर सोझा जनता ठगी खानीस्थलको जग्गा किनेका छन् ।

यहाँ सिद्धार्थ मिनरल्स, कञ्चन क्वायरिज र अल्फा कन्सट्रक्सनले दोभान, सर्वोत्तम सिमेन्टले कचल, डोलोमाइटले मस्याम, जगदम्बा र चौधरी ग्रुपले सिद्धेश्वर, होङसीले ज्यामिरे, पाल्पा सिमेन्टले रहबास गोठादी, सत्यवतीले कोलडाँडामा गरी चुनढुंगा उत्खनन गर्ने स्वीकृति लिएका छन् । यतिखेरसम्म दैनिक करिब १ हजार टिपर चुनढुंगा रूपन्देही र नवलपरासीमा निर्यात भएको छ । अप्रिलदेखि नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टले उत्पादन गर्ने भएकाले केही महिनाभित्र यो निर्यातको संख्या १५ सय टिपरभन्दा बढी हुनेछ ।
खानी सञ्चालकले गाउँगाउँमा जग्गा दलाल परिचालन गरेका छन् ।

सुराकी पालेका छन् । बाख्रापालन, पशुपालन पकेटक्षेत्र निर्माणलगायत काम गर्ने बताएर सस्तोमा आवादी जग्गा खरिद गरेका हुन् । बाउबाजेको पालादेखि गाउँमा बस्दै आएका जनता बहुमूल्य जमिन कौडीको मोलमा बेचेर गाउँ छाड्न बाध्य छन् । गोठादी सातपोखरीका २० घर दलित गाउँ छोडेपछि ज्यालामजदुरी गर्न कर्णाली, रोल्पा, रुकुम पुगेका छन् । छोराछोरी र महिला भाडामा बस्न बाध्य छन् । खानीको लाइसेन्स झोलामा बोकेर हिंड्नेहरूले गरिबलाई झन् गरिब बनाएका छन् ।

झडेवाका विमल काफ्ले भन्छन्, ‘सरकारका तीन तह सक्रिय बन्न नसकेका बेला दलाल, बिचौलिया, भ्रष्ट कर्मचारी र ठग उद्योगीहरूले प्राकृतिक सम्पत्तिको दोहन गरेका छन् । वातावरणीय अध्ययन, सरोकारवालासँगको छलफल र अनुगमन सबै गोजीबाट निस्किएको छ ।’ माथागढी ७ रहबासका टीकाराम थापाले बाख्रा पाल्ने भन्दै आएका छिमेकीलाई १० रोपनी जग्गा प्रतिरोपनी २२ हजार रुपैयाँका दरले बिक्री गरेको तर अहिले त्यो जग्गा चुनढुंगा खानी रहेछ भन्ने थाहा पाएको बताए । बाख्रा पाल्न ठूलो खोर बनाउने हो भन्ने ठाउँमा ढुंगा निकाल्न थालेपछि मात्र कनौजेलाई आफ्नो बारीको मूल्य धेरै पर्ने ज्ञान भएको छ ।

२२ देखि ४० हजार रोपनीमा जनताको जमिन खरिद गरेर ३ लाख रुपैयाँ रोपनीसम्ममा कम्पनीलाई बिक्री गरेका छन् । खानी उद्योगमा माइन इञ्जिनियर भएर बसेको दीपक झाले जिल्लाका सबै खानी दर्ता गरेर अहिले ब्रह्मलुट मच्चाइरहेका छन् । साहसी प्रधानमन्त्री, विज्ञ अर्थमन्त्री र इमानदार उद्योगमन्त्री भएको भनिएको बेला प्राकृतिक दोहन रोक्न सुरु हुन्छ कि भन्ने आश गरेका छन् पाल्पालीले !

टिप्पणीहरू