पारसका प्यारालाई अब चाहियो पार्टी

पार्टीको ह्विप उल्लंघन गर्दै शाहीे कदमको स्वागत गर्न पुगेका विराटनगरका एक अधिवक्ता यतिखेर एमालेभक्त बन्दै एक नम्बर प्रदेशको मुख्य न्यायाधिवक्ता बन्ने दौडमा लागेका छन् । फरेन नामक एउटा एनजिओ पनि चलाउने चूडामणि आचार्य द्वन्द्वकालमा एड्भोकेसी फोरमबाट राम्रो पैसा कमाउन सफल भई पूर्वराजा ज्ञानेन्द्रका छोरालाई शहीद मैदानमा स्वागत गर्दै उनको हातबाट सम्मानसमेत थापेका थिए ।

पारसलाई शहीद मैदानमा उनले स्वागत गरिरहँदा सहकर्मी कानुन व्यवसायीचाहिँ हिमालय रोडमा सडक इजलास सञ्चालन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई झण्ड्याएर भए पनि लोकतन्त्र बहालीनिम्ति बहस गरिरहेका थिए । जनआन्दोलनताका गुमसुम भएका यी अधिवक्तालाई बार एसोसिएसनले बहिष्कारसमेत गरेको थियो । प्रधानन्यायाधीश गोपाल पराजुली विराटनगर उच्च अदालतमा मुख्य न्यायाधीश रहँदा यिनले समाचार लेखेकै कारण तत्कालीन नागरिक दैनिकआबद्ध पत्रकार खिलानाथ ढकालविरुद्ध बहस गरेर आफ्नो चाकरी चरित्र देखाएका थिए । पर्शुराम बस्नेत प्रकरणमा पनि प्रेसविरुद्ध बहस गरेका थिए । जनआन्दोलनअगाडि सामान्य अवस्थामा रहेका यी अधिवक्ताको आर्थिक हैसियत एकाएक वृद्धि भएको हो । एक नम्बर प्रदेशको मुख्य न्यायाधिवक्ताका लागि एमालेबाट जगत थापा र सुरेशलाल श्रेष्ठ पनि आकांक्षी छन् । 

टिप्पणीहरू