​घाँटी रेटेर पनि नउदाएको घाम

हत्या हुनुपहिले तत्कालीन विद्रोही माओवादीतर्फ इंगित गर्दै एमाले नेता यदु गौतम भन्थे, ‘उनीहरू बुलेटको बाटोमा छन्, हामी ब्यालेटको बाटोमा, एकदिन एउटै ठाउँमा आउने निश्चित छ ।’ कम्युनिस्ट आन्दोलनको एउटा सतिसाल यदुलाई घाँटी रेट्ने माओवादीले आज स्विकार्दै छ, ‘त्यो हत्या माओवादी आन्दोलनको गम्भीर भूल हो, अराजकताको नमुना हो ।’

माओवादी र एमालेको एकीकरण जरुरी भएको बताउने यदु मारिएको १९ वर्षपछि उनको सपना साकार हुँदै छ । रुकुमका जिल्लासचिव तथा जनप्रिय नेता यदुकुमार गौतमको हत्या ०५५ साल फागुन २१ गते गरायला गाविस–७ मा भएको थियो । ०५६ सालको आमनिर्वाचनका लागि क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका यदुलाई सफाया गर्ने निर्णय नेतृत्वबाट भएको हो । माओवादी जनयुद्धका सैन्य कमान्डर जनार्दन शर्माले केन्द्रीय नेतृत्वले स्थानीय अराजकताका कारण भएको उक्त हत्याबारे आत्मालोचनासहितको विज्ञप्ति त्यतिबेलै निकालेको जनाएका छन् । यदुकी धर्मपत्नी तीर्थाले हत्याको कारण जनताले जान्न चाहेको र माओवादीलाई पश्चातापमा पारेको बताइन् ।

पार्टी एकताले घाउमा मलम लागेको र यदुको भावनाको जित भएको उनले जनाएकी छन् । पेशाले वकिलसमेत रहेका यदु सदरमुकाम बसेर माओवादी कार्यकर्तालाई जोगाउँथे । छिबाङबाट चुनावको लागि भेटघाट गर्दै घेत्मा पुग्ने योजना बनाएका यदुलाई बाटो छेकेर रिम्ना नजिकको खोलामा खुकुरी प्रहार गरी मारिएको हो । 

टिप्पणीहरू