दुई मन्त्री र तीन राज्यमन्त्री क्वार्टर बाहिरै

दुई मन्त्री र तीन राज्यमन्त्री क्वार्टर बाहिरै

पुल्चोकस्थित मन्त्री क्वार्टरमा हालै नियुक्त दुई जना मन्त्री र तीन जना राज्यमन्त्रीले ठाउँ पाउन सकेका छैनन् । यसबीच मन्त्रीक्वार्टरका १९ वटा ब्लक भरिभराउ भइसकेका छन् । यसअघि नियुक्त मन्त्री पहिलेदेखि क्वार्टरमा बस्दै आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ गते क्याबिनेटलाई पूर्णता दिएसँगै अर्का एक जना मन्त्री पनि पुल्चोकस्थित मन्त्री क्वार्टरमै डेरा सरिसकेकी छन् । बाँकीले भने दशैंपछि क्वार्टर सर्ने भन्दै दशैंअघि आआफ्नो ब्लकको साँचो बुझेर लगेको बताइन्छ ।

सबैले साँचो बुझे पनि दुई क्याबिनेट मन्त्री र तीन जना राज्यमन्त्रीले भने त्यो सुविधा नपाउने भएका छन् । मन्त्रीहरुका लागि आवासको प्रबन्ध मिलाउँदै आएको शहरी विकास मन्त्रालयका विभागीय मन्त्री रामकुमारी झाँक्री क्वार्टरमा सर्नुभएको छ । बाँकी मन्त्रीले हाललाई साँचो बुझेर लगेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँण यसअघि नै डी फोर ब्लकमा बस्दै आउनुभएको छ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डी थ्री ब्लक रोज्नुभएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालको भागमा डी फाइभ र अर्थमन्त्री जनार्दन शर्मालाई डी टु, परराष्ट्रमन्त्री नारायण खड्कालाई डी वन ब्लक दिइएको छ । यस्तै, ए थ्री ब्लकको साँचो कृषिमन्त्री महेन्द्र राय यादवले बुझेको स्रोतले बताएको छ ।

मन्त्री झाँक्री ए टु ब्लकमा,भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव ए वान,स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा ए फोर र रक्षामन्त्री मीनेन्द्र रिजालले ए फाइफ ब्लकको साँचो बुझ्नुभएको शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ ।
यस्तै,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका प्रेमबहादुर आलेलाई बी टु,खानेपानी मन्त्री उमाकान्त चौधरीलाई बी फोर, कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई बी वानको साँचो बुझाइएको छ ।

त्यसैगरी शिक्षामन्त्री देवेन्द्र पौडेलले सी फाइभ,सी वान ब्लक वन तथा वातावरण मन्त्री रामसहाय यादव,सी टु मा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ र सी थ्री क्वार्टर महिला तथा बालबालिका मन्त्री उमा रेग्मीको भागमा परेको छ ।

सबैजसोले मन्त्री क्वार्टरको सुविधा पाउँदा उक्त सुविधाबाट वञ्चित हुनेमा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ र तीन जना राज्यमन्त्री हुन् ।

टिप्पणीहरू