​समातिने रोमा, आत्तिने निलम

बिराउने एउटा, पिराउने अर्कैलाई । केही समयअघि एउटी वर्षा राउतले बिराउँदा अर्की वर्षाले खप्की खाइन् । अहिले शारीरिक रूपमा उस्तै र पेसा पनि एउटै हुँदाको तनावमा छिन् नृत्यांगना निलम ढुंगाना । एक खुट्टाले नाचेर चर्चा कमाएकी निलम अनलाइन मिडियामा आएका समाचारको कारण तनावमा छिन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरभित्र साँस्कृतिक कार्यक्रम भइरहँदा एक खुट्टाले नाचेर चर्चा बटुलेकी रोमा न्यौपानेलाई पक्राउ गरियो । उनीविरुद्ध दुई वर्षअघि नै कोहिनूर बस्नेत, ससैनाले र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा दोषी ठहर भई श्रीमान् चिरञ्जीवीले दुई वर्ष कैद सजाय भोग्दै छन् । रोमा फरारको सूचीमा छिन् ।

 शनिबार उनी त्यहाँ रहेको चाल पाएपछि ठगिएकामध्येकै एकले प्रहरीलाई खबर गरिदिए र उनी पक्राउ परिन् । तर, पक्राउ पर्ने रोमा तर मिडियामा तस्बिर छापिने निलम भएपछि केही समयअगाडि भारत कर्नाटकका कलाकार रेखा सिन्धुको मृत्यु हुँदा नेपालकी नायिका रेखा थापाको तस्बिर छापेजस्तै भयो कि भएन ? यो घटनाप्रति दुःख पोख्दै सोमबार बिहान जनआस्थासँग भनिन्, ‘अपराध गर्ने एउटाले तर मिडियाले सजाय दियो अर्कैलाई ।’

टिप्पणीहरू