देख्दा ओली र माधव : लेख्दा चारतारा

देख्दा ओली र माधव : लेख्दा चारतारा

आजभोलि राजनीतिक वृत्तमा सबैभन्दा बढी कटुता क–कसमा छ भनेर सोध्ने हो भने मानिसले फ्याट्ट भनिहाल्छन् एमाले र एकीकृत समाजवादीमा । आमरूपमा र झट्ट हेर्दा देखिने कुरा पनि त्यही हो । तर, केपी ओलीवाला एमाले र माधव नेपालवाला एकीकृत समाजवादीबीच जति र जे–जस्तो कटुता छ त्यसलाई बिर्साउने खालको मनमुटाव सत्ताधारी कांग्रेसको तल्लो तहमा देखिएको छ ।

वडादेखि नगर अधिवेशनहरू भइरहँदा सतारुढ कांग्रेसको मोरङतिर यस्तो गुटगत लफडा छ कि सार्वजनिक रूपमा गाली बेइज्जतीदेखि ’गुण्डा लगाएर कुट्ने’ सम्मका हर्कत भएका छन् । वडा र नगर अधिवेशनमा भएका लफडा त्यहाँ सहभागी कांग्रेसी पत्रकारले नलेख्ने र अरु पत्रकारले नदेख्ने भएकाले त्यतातिरका लफडा गुपचुप हुने गरेको पाइएको छ ।

नगर अधिवेशनको पूर्वसन्ध्यामा असोज १४ गते कांग्रेस बेलबारीको एउटा समूहले उम्मेदवारी घोषणा कार्यक्रम राख्योे । शेखर कोइराला पक्षधर समूहको उम्मेदवारी घोषणा सभा तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथि थिए नोबेल मेडिकल कलेज, काठमाडाँै मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक तथा पहिले १८–२० हजार मतान्तर रहेकोे मोरङ क्षेत्र नम्बर ३ बाट संसदीय चुनावमा एमालेका भानुभक्त ढकाललाई झण्डै हराएका सुनील शर्माले । उनले त्यसदिन जे जे खुलासा गरे, त्यो एमाले र समाजवादीको द्वन्द्वभन्दा कम छैन ।

शर्माले त्यसदिन मीनेन्द्र रिजाल, कृष्ण सिटौलाहरूको मात्रै खोइरो खनेनन्, जिल्ला र स्थानीय तहका दुई/चार जना नेताको पनि उछित्तो काढे । देउवा पक्षधरले आफूलाई वडा र नगर अधिवेशन नसकिउञ्जेल काठमाडौंतिर गएर बस्न दबाब दिएको प्रसंग कोट्याउँदै भने, ‘मीनेन्द्र रिजाल र कृष्ण सिटौलाहरूले कोठा लिई लिई गाउँमा आएर बस्नु के जरुरी छ ? मैले आफ्नो निर्वाचन क्षेत्रमा पार्टी गतिविधि गर्दा किन टाउको दुखाइ ? पथरीतिर मीनेन्द्र रिजालहरू गुटको राजनीति गर्न अड्डा जमाएर बसेको उनले बताए ।

आफूहरू बीपी कोइराला पक्षधर भएको बताउने शर्माले सबैभन्दा बढी कांग्रेस मोरङका कोषाध्यक्ष तथा सुन्दरहरैंचाका मेयर शिव ढकालको उछित्तो काढे । उनले गत संसदीय चुनावमा आफू र सुन्दरहरैंचाकै प्रदेश सांसद उम्मेदवार ललित श्रेष्ठलाई शिव ढकालहरूले नै हराएको ठोकुवा गरे । ढकालले भर्खरै भएको वडा अधिवेशनमा आफ्नो वडामा ८८ नातेदार राखेर वडा प्रतिनिधि चयन गरेको आरोप पनि लगाए ।

त्यसैगरी, कलेज पढाउने जागिर छाडेर मोरङ ३ ख बाट प्रदेश सांसद बनेका देउवापक्षीय सुयर्मा राईको पनि खोइरो खने । वडा अधिवेशनको बेला एकजना धिमालको घरमा बसिरहेका कमल बिकलाई सुयर्मा राईले गुण्डा लगाएर कुटेको पनि बताए । एक धिमालको घरमा गुण्डा पठाएर कुटाएपछि राइले सुनील शर्माले बिकलाई कुटपिट र अपहरण गरेको भन्दै फेसबुकमा लेखेको पनि उनले सुनाए ।

शिवजस्ता खुराफाती गर्ने र सूयर्माजस्ता गुण्डागर्दी गर्नेहरूलाई ब्यालेटमार्फत जवाफ दिने घोषणा उनको ठोकुवा थियो । आफ्नो निर्वाचन क्षेत्रमा ५ सय १० मध्ये देउवाको पक्षमा ९३ मत मात्रै रहेको उनले दाबी गरे । तर, उनकै घर रहेकोे बेलबारीमा कांग्रेसको नगर अधिवेशनमा सभापति कोइराला पक्षका छत्र लिम्बूले जितेपनि उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा कोइराला र देउवा पक्षका एक एक जनाले मात्र जितेका छन् ।

मोरङका दुई पालिकामा मात्रै देउवावालाको नेतृत्व

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङका १७ मध्ये १५ स्थानीय तहको नेतृत्व संस्थापनइतर पक्षले पाएको छ ।

अधिकांश स्थानीय तहमा केन्द्रीय सदस्य शेखर कोइरालानिकट उम्मेदवार विजयी भएका छन् । मोरङका चार वटा पालिकामा सर्वसम्मत सभापति चयन भए पनि १३ वटा तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

१७ मध्ये १५ वटामा कोइराला पक्ष र २ पालिकामा देउवा पक्षले नेतृत्वमा कब्जा जमाएको छ । देउवा पक्षले धनपालथान र जहदा गाउँपालिकामा सभापति जितेको हो । त्यसबाहेक सबै स्थानीय तहमा कोइराला पक्षको बर्चस्व छ ।

धनपालथान गाउँपालिकाको सभापतिमा दीपकवीर पाण्डे र जहदा गाउँपालिकाको सभापतिमा महेन्द्रप्रसाद मण्डल सभापति चयन भएका छन् । उनीहरूलाई देउवा समूहको समर्थन थियो ।

टिप्पणीहरू