महारानीले नोकरलाई दिएको त्यति मीठो मन

महारानीले नोकरलाई दिएको त्यति मीठो मन

सन् १८८७ मा भिक्टोरिया ६९ वर्षकी भइन् । त्यसै साल उनी महारानी बनेको ५० औं (हीरक वर्ष) धुमधामसाथ मनाइने भयो । त्यसबेला भारतमा मुगल साम्राज्य अन्त्य भएर व्रिटिश सरकारको प्रत्यक्ष शासन चलिसकेको थियो अर्थात् भारतमा स–साना राजा–महाराजाहरू त थिए तर बेलायती महारानी भिक्टोरिया नै त्यहाँको पनि राष्ट्राध्यक्ष बनिसकेकी थिइन् ।

तसर्थ, लण्डनमा आयोजना हुन गइरहेको हीरक महोत्सवको लागि भारतमा प्रशासन सञ्चालन गर्दै आएका गभर्नर लर्ड डफरिनले महारानीलाई २ जना सेवक (नोकर) उपहारस्वरूप पठाइदिए । तीमध्येका थिए – २४ वर्षीय अब्दुल करिम । शारीरिक रूपले बलिष्ठ, तन्दुरुस्त र आकर्षक । उनलाई महारानी भिक्टोरियालाई हिन्दी र उर्दू भाषा सिकाउने जिम्मा थियो ।

अब्दुल आगराको जेलका कर्मचारी । उनको वार्षिक तलब भारू. ६० थियो । उनका बाउ पनि सोही जेलमा काम गर्ने वैद्य थिए । महारानी भिक्टोरियाको सेवामा लागेको केही दिनमै अब्दुल रानीको मन पर्ने नोकर बने । रानीले उर्दू सिकाइदिन भनिन् । एउटा डायरी दिएर भनिन् कि यसमा उर्दू वाक्य लेख । अब्दुलले उर्दू अक्षरमै कुनै एउटा वाक्य लेख्थे । त्यसलाई अंग्रेजीमा अनुवाद गर्थे अनि रोमन अक्षरमै पनि उर्दूको वाक्य लेखिदिन्थे । र, रानीले अब्दुलले लेखेको उर्दू अक्षर हेर्दै त्यस्तै लेख्ने कोसिस गर्थिन् ।

उर्दू सिक्न सजिलो छैन । त्यसैले अब्दुल रानीको सेवामा १३ वर्ष बसे र १३ वर्षसम्मै सिकाउँदै गए । रानीले धेरै हदसम्म उर्दू बोल्न र लेख्नसमेत सिकिन् । उनी उर्दू बोल्दा खुशी हुन्थिन् । उर्दू सिक्न रानीले कम मिहिनेत गरिनन् । उनी जहाँ भए पनि हरेकदिन एक समय उर्दू अक्षर पढ्ने र लेख्ने अभ्यास छुटाउँदैन थिइन् ।

महारानी भिक्टोरियाले उर्दू भाषा सिकेको विषयमा लण्डन विश्वविद्यालयका प्रोफेश्वर हुमायुँ अन्सारीले सोध नै गरेका छन् । उनका अनुसार रानी आफ्नो डायरी उर्दूमै लेख्थिन् । डायरीको एउटा पानामा यस्तो लेखेकी थिइन्, ‘आजको दिन राम्रो भयो । पर्सिया (वर्तमान इरान) का राजासँग भेट भयो । भेटमा दुबै मुलुकका मन्त्रीहरू पनि सामेल थिए ।’

अब्दुलले रानीलाई उर्दू त सिकाए नै साथमा अधिकांश भारतीयले मन पराउने कुखुराको मासुको परिकार ‘चिकन करी’ को स्वाद पनि चखाए । उनले एकपटक चिकन करी र दालसित पुलाउ के ख्वाएका थिए रानीलाई त लत नै लाग्यो । उनले सन् १८८७ अगस्त २० को दिन डायरीमा लेखिन्, ‘आज मैले भारतीय नोकरले बनाएको स्वादिष्ट चिकन करी खाएँ ।’

त्यसो त रानीले यसअघि चिकन करी खाँदै नखाएको होइन । बेलायती खाद्य इतिहासकार एनी ग्रेले आफ्नो पुस्तक ‘डे ग्रिडी क्वीनः इटिङ विथ भिक्टोरिया’ मा रानीले खाने परिकारबारे उल्लेख गरेको छन् ।

तर, पहिला खाने गरेको चिकन करी र अब्दुलले ख्वाएको चिकन करीको स्वादमा आकाश–पातालको फरक थियो । बेलायतमा चिकन करी त बन्थ्यो नै ! तर, फलफूल र क्रिम हालेर बनाइन्थ्यो । अब्दुलले हलाल गरेको कुखुराको मासुमा भारतीय मसला हालेर बनाए त्यो पनि मसला सबै हातैले पिँधेर ।

अब्दुलले बनाएको करी मीठो लाग्न थालेपछि रानीले सातामा दुई छाकको खाना चिकन करीसँगै खान थालिन्, आइतबार बिहान र मंगलबार बेलुकी । अब्दुलकै लहलहैमा लागेर रानीले भारतबाट आँपसमेत मगाउन लगाइन् तर लण्डन पुग्दानपुग्दै सबै कुहियो ।

भिक्टोरियालाई भारत भ्रमण गर्ने ठूलो शोख थियो तर त्यतिञ्जेलसम्ममा उनी यात्रा गर्न अक्षम भइसकेकी थिइन् । स्मणीय छ, सन् १८८३ को मार्च १७ का दिन उनी विन्डसोर दरवारको सिँढीबाट लड्दा बायाँ खुट्टामा नराम्रोसँग चोट लागेको थियो, जसकारण हिँड्न गाह्रो भयो । उनी जीवनभरि यो पीडाबाट गुज्रिन् । त्यसैले भारत र भारतीय संस्कृतिबारे जति जान्न चाहन्थिन् सबै अब्दुलबाटै जानिन् ।

अब्दुलले उनलाई भारतमा हुने प्रचण्ड गर्मीबारे, धुलोधुवाँबारे, चाडपर्वबारे र यहाँसम्म कि राजनीतिबारे पनि बताए । यसै क्रममा उनले भारतमा हुने गरेको हिन्दू, मुस्लिम दंगा र अल्पसंख्यक मुसलमानहरूमाथि हुने विभेदबारे पनि भन्न भ्याए । एकपटक उनै अब्दुलकै कुरो सुनेर रानीले भारतमा खटिएका ब्रिटिश प्रशासक (भायसराय) सँग स्पष्टिकरणसमेत सोधिन् ।

दरबारमा भिक्टोरियालाई कुनै पुरुषले एक्लै र एकान्तमा भेट्न सक्दैननथे । यहाँसम्म कि पाको उमेरका नोकरचाकरलाई समेत एक्लै महारानीको कोठामा छिर्ने अनुमति हुन्नथ्यो । उनलाई पढाउन आउने शिक्षकले उनलाई पढाउन्जेलसम्म पनि या त आमा या धाइआमा संगै बस्थे ।

१८ वर्षकै उमेरमा गद्दीमा बसेकी उनको कार्यकक्षमा दिनहुँ सयौं निवेदन, फाइल, कागजात पुग्थ्यो । तर उनी शाशन प्रशासनको मामिलामा कसैको हस्तक्षेप सहँदैन थिइन् । आमा भिक्टोरिया (जर्मन राजकुमारी) र मामा लियोपोल्ड (बेल्जियमका राजा) को कुरासमेत सुन्दैन थिइन् । तर अब्दुल अपबाद सावित भए ।

रानी अब्दुलको समिपमा बस्दाबस्दै उनलाई मन पराउनसमेत थालिन् । उनैको आदेशमा अब्दुल छायाँसरह उठबस गर्न थाले । एकपटक अब्दुल बिरामी परे । रानीको सेवामा उपस्थित हुन सकेनन् । रानीले सबैस“ग सोधिन्, ‘किन नआएको, उनलाई के भयो ?’ भनेर । जब उनले अब्दुल बिरामी परेको भन्ने थाहा पाइन् मर्यादाको समेत ख्याल नगरी सिधै अब्दुल बस्ने नोकरहरूको क्वार्टरमा हालखबर बुझ्न गइन् ।

रानीका निजी चिकित्सक डाक्टर रिडका अनुसार अब्दुल निकै बिरामी परे । ओछ्यानबाट उठ्नै नसक्ने भए । रानी स्वास्थ्यमा सुधार नहुञ्जेल दिनको दुईपटक अब्दुलको कोठामा पुग्न थालिन् । यहाँसम्म कि २–४ दिन त आफ्नो विस्तरासमेत त्यहाँ लगाउन दिइन् ताकि अब्दुलले सुतिसुती भए पनि उनलाई उर्दू सिकाउन सकुन् । रिड भन्छन्, ‘कहिलेकाहीं त रानीले अब्दुलको सिरानी मिलाइदिएको सम्म देखेको छु ।’

रानी भिक्टोरिया चाहन्थिन् प्रसिद्ध चित्रकार भान एन्जेलीले अब्दुलको एउटा राम्रो चित्र कोरिदिउन् । उनले आफूले चाहेको नभनी छोरी वेट्रिसलाई भनिन्, ‘एन्जेली अब्दुलको एउटा चित्र कोर्न चाहन्छन्, किनभने उनले अहिलेसम्म कुनै भारतीयको चित्र बनाएकै छैनन् ।’

स्मरणीय छ, रानी भिक्टोरिया ८ सन्तानको आमा थिइन् र वेट्रिस कान्छी छोरी । यथार्थमा भिक्टोरिया गर्भधारण गर्न चाहन्नथिन् । झ्याउ मान्थिन् । सुत्केरीको समयमा पनि स्तनपान गराउँदैनथिन् । आमाको दूध चुसेका बच्चाहरू हेर्दा नराम्रो देखिन्छन् भन्ने लाग्थ्यो उनलाई । तैपनि, नचाहँदानचाहँदै उनी ८ सन्तानको आमा बन्न पुगिन्, १६ वर्षको अन्तरालमा ।

रानी बिस्तारै अब्दुलप्रति आकर्षित हुँदै गइन् । युवा उमेरका अब्दुलप्रति लगाव बढ्दै गयो । अब्दुललाई खुशी पार्न हरसम्भव प्रयत्न गर्न थालिन् । यसक्रममा बेलायतको तीनै ठाउँको दरबार परिसरभित्र अब्दुलको लागि घर ठड्याउन लगाइन् र भाइसरायलाई भनेर अब्दुलको नाउँमा आगराको ३ सय एकड जमीन दिलाइदिइन् । अब्दुलका बाबुले आजीवन पेन्सन पाउने ब्यवस्था गर्न लगाइन् । अब्दुल आफैँले पनि सधैं शरीरमा तक्मा र तरबार झुन्ड्याएर हिँड्ने अनुमति पाए ।

एकपटक अब्दुलका पिता छोरोलाई भेट्न लण्डन पुगे । उनी आउने खबर पाउनेबित्तिकै रानीले उनका लागि बस्ने, खाने सम्पूर्ण व्यवस्था विन्डसर किल्लामै मिलाउन लगाइन् । विशेषतः बस्ने कोठा तातो पार्नेतर्फ ध्यान दिन भनिन् । अब्दुलका पिताको हुक्का तान्ने अम्मल थियो ।

सायद, विन्डसर दरबार परिसरभित्र हुक्का तान्ने पहिलो ब्यक्ति उनै हुन् । उनलाई त्यो कोठामा बस्ने ब्यवस्था मिलाइदिए जुन कोठामा, त्यहाँका लर्ड सालिसबरी आउँदा बस्थे । रानीले आफ्नो दस्तखत भएको दुइटा फोटो पनि दिन लगाइन् ।

भारतका साधारण नोकरप्रतिको रानीको आकर्षण, उनलाई एकपछि अर्को दिंदै जानथालेको सुविधा, उनीप्रतिको रानीको नरमपना आदिइत्यादिले दरबारभित्र असन्तोष बढ्यो । उनलाई सबैले शत्रु र रानीका गोप्य प्रेमी मान्न थाले ।

उनीहरूले अब्दुलविरुद्ध रानीलाई भएनभएको कुरो सुनाउन थाले । हडताल गर्ने समेत धम्की दिए । रानीले युरोप भ्रमणमा उनैलाई लिएर गए सामूहिक राजीनामा दिने धम्कीसमेत दिए । तर रानीले कसैको कुरो सुनिनन् । अब्दुललाई सँगै लिएरै गइन् । तर, राजीनामा भने कसैले दिएनन् ।

अब्दुल र भिक्टोरियाबीचको सम्बन्धबारे सोध गरेकी श्रीबनी बसु भन्छिन्, ‘रानी भिक्टोरिया र नोकर अब्दुलबीच प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध थियो वा थिएन ठ्याक्कै भन्न सकिने प्रमाण छैन तर रानीले एकपटक अब्दुललाई हलैण्डको कटेजमा लिएर गएको र एकान्तमा सँगै समय बिताएको भने हो ।

त्यति मात्र होइन, दरबारमा दुबैबीच कुनै विशिष्ट सम्बन्ध रहेको हल्ला भने चलेकै हो । अर्को कुरो रानी अब्दुललाई पत्र पनि लेख्थिन् । एउटा पत्रमा लेखिन्, ‘तिमी आऊ र गुडनाइट भन ।’

सन् १९०१ को जनवरी २२ मा ८२ वर्षको उमेरमा रानी भिक्टोरियाको निधन भयो । भिक्टोरियाका उत्तराधिकारी एडवर्ड (सप्तम) ले अब्दुललाई पनि रानीलाई अन्तिम श्रद्धाञ्जली दिन मौका दिए ।

तर, केही दिनपछि नै उनको घरमा प्रहरीले छापा मा¥यो । उनले लेखेका र रानीले उनलाई लेखेका सबै पत्रमा आगो लगाइयो । उनकी पत्नी र भतिजासामु बेइज्जती गरियो । उनलाई बेलायत छाडेर जान बाध्य पारियो ।

भारत फर्केपछि रानीले बकस दिएको आगराको जमिन र घरमा बसे उनी । बेलायतबाट फर्केको ८ वर्षपछि सन् १९०९ मा मृत्यु भयो । उनी ४६ वर्षका थिए । यसबारे हलिउडमा एउटा चलचित्र पनि बनिसकेको छ ’ भिक्टोरिया एण्ड अब्दुल’ ।

टिप्पणीहरू