​काभ्रेमै राजधानी ल्याउने कुरा

मुख्यमन्त्री डोरमणि पौड्यालले ३ नम्बर प्रदेशको स्थायी राजधानी नीति, विधि र संविधानअनुसार हुने बताइरहँदा काभ्रेले त्यसको तयारी थालेको छ । यता, ४१ करोड खर्च गरिँदा आइटी पार्क नै प्रदेश ३ को राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन तयार गरिएको छ ।

भवन डिभिजन कार्यालय काभ्रेका इञ्जिनियर अशोक अधिकारीले भने, ‘सरकारले मागेअनुसारको प्रतिवेदन बुझाइसकेका छौं ।’ आइटी पार्क क्षेत्रमा प्रदेश राजधानी राख्दा जम्मा कायम भएको १ सय ९२ रोपनी जग्गामा थप संरचनासमेत बनाउन सकिने तथा प्रदेशसभाका लागि आवश्यक पर्याप्त सार्वजनिक जग्गा वरिपरि रहेको बताइन्छ । तत्कालका लागि आवास भवन उपलब्ध रहेको र एउटै क्षेत्रबाट सरकारी सेवासमेत प्रदान गर्न सकिनेछ । पार्कको मुख्य भवनको पहिलो तलामा मुख्य मन्त्रीको कार्यालय राख्न सकिनेछ । ८ वटा कोठा रहेको उक्त तलामा १ करोड ५० लाख खर्च हुने अनुमान छ । दोस्रो तलामा मन्त्रालय २ वटा राख्न सकिनेछ । तेस्रो तलामा २ वटा, चौथोमा २ वटा कार्यालय राख्न सकिनेछ ।

सबै तलामा ८÷८ वटा कोठा उपलब्ध छन् । प्रशासकीय भवनको पहिलो तल्लामा प्रदेश प्रमुखको कार्यालय रहनेछ । जसमा ४ वटा कोठा छन् । आइटीपार्कभित्रै प्रदेशसभा भवनको सचिवालय र प्रदेशसभा हल प्रिफ्याबको भवन निर्माण गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रालयका चार वटा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, मुख्यसचिव, सभामुख, उपसभामुखलगायत अन्य सात मन्त्रीको निवास पार्कभित्रै निर्माण गर्न सकिनेछ । सुरक्षा बेस क्याम्प, पार्किङ एरिया निर्माण र नपुग आवासका लागि ४१ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू