अष्टमीको दिन ८ को मृत्यु

अष्टमीको दिन ८ को मृत्यु

दशैंको अष्टमीका दिन भएका विभिन्न सडक दुर्घटनामा आठ जनाको निधन भएको छ । बाराको कोल्हबी नगरपालिका–२ भीमसखुवामा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७० नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३८ वर्षीय पेमा दोर्जे घिसिंग र ४० वर्षीय डेनी स्याङतानको घटनास्थलमा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८, खाडोखोलामा ना.१ ज ७४१८ नम्बरको माइक्रोबस र स.२ प ३४८९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका २० वर्षीय समित्रकुमार सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलमा रहेका अर्का घाइते २२ वर्षीय अरविन खंगको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । फरार माइक्रोबस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकमा प्रदेश ०२–०३–००१ त १०३ नम्बरको धान काट्ने थ्रेसर गाडी पल्टिँदा गाडी मालिकको निधन भएको छ । पर्सा सखुवा प्रसौनी गाउँपालिका–४, बस्ने ५५ वर्षीय रुस्तम मियाँ अन्सारीको मृत्यु भएको हो । दुर्घटनामा च्यापिएको अवस्थामा रहेका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ घोडालोटेस्थित सडकमा भे.१ त ५३ नम्बरको ट्रयाक्टर र कर्णाली प्रदेश–००१ प ९१४२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक ४० वर्षीय प्रेमबहादुर सिजापतिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

वीरगञ्ज–४ बिर्तास्थित सडकमा ना.१४च ४१६४ नम्बरको कारको ठक्करबाट स्थानीय छपकैया बस्ने सफरोज मियाकी १५ महिनाकी छोरी लउवा खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते बच्चीको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

नवलपरासी (पूर्व), देवचुली नगरपालिका–१६, रजहर चोकमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । लु.२२ प ६७६९ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा हिजो राती ३६ वर्षीया नैना बस्ताकोटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०३–००३ प १५२६ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय ज्ञानप्रसाद बस्ताकोटी समेत तीन जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जको भाटभटेनी नजिकै सडकमा भे.६ प ६२३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । परिचय नखुलेका करिब ६५ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको निम्ति नर्सिङ होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक नवीन भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू