आईजीपीले गरे राजधानीको मध्यभागमा मौलो पूजा

आईजीपीले गरे राजधानीको मध्यभागमा मौलो पूजा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राजधानीको मध्यभागमा मौलो पूजा गरेका छन् । दशैंको अवसरमार नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको पूजाअन्तर्गत आज सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा उहाँले पूजा र संकल्प गर्नुभएको हो ।

महानिरीक्षकले बली पूजा र निशानमा पञ्जा छाप समेत लगाउनुभएको बताइएको छ । त्यसपछि एआईजी, डीआईजी र वरिष्ठ प्रहरी अधिकृतहरुले समेत मौलो परिक्रमा गरेका थिए ।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि नक्सालबाट निशान लगिएको थियो । नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा रामधनुष अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित छ ।

नेपाल प्रहरीले निशान झण्डालाई शक्तिपीठ र इष्ट देवताको प्रतीकका रुपमा लिने गरेको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडा दशैं र चैते दशैंमा मौलो पूजा गर्दै आएको छ ।

टिप्पणीहरू