​तलका मान्य’हरूलाई क्या तनाव « Jana Aastha News Online
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022
Logo
६ जेष्ठ २०७९, शुक्रबार
|  Fri May 20 2022

​तलका मान्य’हरूलाई क्या तनाव

प्रकाशित मिति :  १८ फाल्गुन २०७४, शुक्रबार १३:१६


वाम दलका ठूला नेता त पार्टी एकीकरण र सरकारमा साझेदारीका कुरा टुंगिएकोमा दंगदासै होलान् तर ‘नहुनु मामाभन्दा…… मामा नै जाति’ भन्दै पहिले केन्द्रको सांसद खाइसकेर अहिलेचाहिँ प्रदेशको माननीयतिर झरेका नेतामा अचम्मकै पीडा देखिएको छ ।

स्रोतका अनुसार प्रदेशमा गइसकेपछि मुख्यमन्त्री र सभामुख नभए पनि गृह या अरू मन्त्री त कतै जाँदैन भन्ने विश्वासमा रहेका त्यस्ता प्रान्तीय विधायकले जम्मा एक जना मुख्यमन्त्री त परै जाओस् मन्त्रीसमेत बन्न नपाएपछि बेकार ‘गुन्द्रुकमा जात फालियो’ भन्न थालेका छन् । प्रदेश ६ मुगुका चन्द्रबहादुर शाहीले त मन्त्री बन्न नपाएको झोंकमा पार्टीबाट राजीनामै ठोकिसके । पहिलो पटक प्रदेश सभामा प्रतिनिधित्व गरेकाहरूचाहिँ यो धर्ती थाम्ने जिम्मा अब हाम्रो काँधमा छ । हामीले सबै कुरा जान्नै पर्छ भन्ने भावमा रहेर तालिमसमेत लिन थालेका छन् । ‘यो नौलो संसार रहेछ । सिंहदरबार, संसद् केहीको अनुभव नदेखेकाले हामीले तलैबाट धेरै सिक्नु छ’, उनीहरू हालै प्रशिक्षण दिन गएको टोलीसँग भन्दै थिए, ‘यतिले मात्र पुग्दैन, सबै कुरा सिकाएर जानुहोस् ।’

समस्या के भने प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख सिंहदरबारकै ढाँचामा लगेको हुँदा सबैले माथिकै नक्कल गर्न थालेका छन् । अहिले मुख्यमन्त्रीले केपी ओली र सभामुखले सुभाष नेम्वाङको कपी गर्दै नयाँ नयाँ हाउभाउ देखाउन थालेको बताइन्छ । ‘कानुन, बजेट बनाउनुपर्ने तर त्यसको आधार नै अधिकांशलाई थाहा छैन । टीठ लाग्यो, अनि अचम्ममा पनि परियो’× प्रादेशिक सांसदलाई प्रशिक्षण दिन गएको एक टोलीका सदस्यको टिप्पणीचाहिँ यस्तो छ । प्रदेशसभामा केन्द्रका कर्मचारी विभिन्न मन्त्रालयबाट गएका छन् । यसो हुँदा सदन कसरी चलाउने भन्ने उनीहरूलाई नै मेसो नभएको पनि देखियो । अहिले ती कर्मचारीको ध्यानचाहिँ बजेट कति छ भन्नेमा मात्र केन्द्रित रहेको स्रोतले बताएको छ । संघीय मन्त्रालयबाट गएका कर्मचारी कुर्सी, माइकलगायत जिन्सी खरिद गर्दा ‘तर मार्न’ पाएकाले दंग छन् । ‘हतारमा खरिद गर्नुपरेकाले’ भन्दै महँगो भुक्तानीलाई जायज र उचित बनाउन प्रयासरत छन् । उता, सांसददेखि कर्मचारीको सेवा, सुविधासम्बन्धी ऐन हालसम्म नबनेकाले ‘पैसाचाहिँ कहाँँबाट आउँछ ?’ भन्ने प्रश्न सबैको मुखमा झुण्डिएको देख्न पाइन्छ ।

प्रदेशका गृहमन्त्री ठूला हतियारसहितको सशस्त्र गार्ड र अरू मन्त्री सानो हतियारधारी अंगरक्षकसहित घुम्न थालेका छन् । मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास केही व्यवस्थित देखिएको छ भने अरूको चाहिँ मर्मत र फर्निसिङको अभावमा असरल्ल छ । संघीय संसद्बाट गएका कर्मचारीले छोटो समयमा प्रलय काम ग¥यौं भन्दै फुर्ती लगाउँदा भित्री कुराको मेसो नपाएका जनप्रतिनिधिले पत्याए पनि अन्य मन्त्रालयबाट खटिएका कर्मचारीचाहिँ ‘के–कतिमा हुने काम कति खर्च देखाए हामीलाई पो थाहा छ त’ भन्दै कटाक्ष गरी बसेका छन् । मन्त्री बन्न नपाएकाहरू ठूला नेताको झैं आफूहरूलाई पनि एक वर्षपछि पालो आउँछ भन्दै चित्त बुझाउने कोसिस गर्दै छन् । प्रदेश नम्बर ६ र ४ मा यस्तो देखिएको स्रोत बताउँछ । प्रदेश ६ मा विमल केसी र सीता नेपाली अर्को वर्ष मन्त्री बन्ने पर्खाइमा छन् । दुवै जनाले माओवादीबाट जितेका हुन् । उनीहरू संविधानसभामा पनि थिए । पहिले संघीय संसद्मा सचेतक बनेकी, त्यसमाथि दलित पनि भएकाले सीता मन्त्री बन्नेमा ढुक्क थिइन् भने जनार्दन शर्माकी भाइबुहारी नाता पर्ने विमला माथिबाट मलाई तान्ने काम भइहाल्छ भनेर ढुक्क रहेको बताइन्छ । उता, प्रदेश नं. ४ मा सोमनाथ प्यासीका ज्वाइँ विकास लम्साल (पर्वत) पनि मन्त्री नपाएकोमा निकै आक्रोशित छन् ।


प्रतिक्रिया दिनुहोस !