अनुपम खेर नाम्चेमा,अमिताभ बच्चन पनि आउने

अनुपम खेर नाम्चेमा,अमिताभ बच्चन पनि आउने

हिन्दी फिल्म छायाङ्कनका लागि बलिउड कलाकारहरु नेपाल आएका छन् । त्यसको लागि कलाकार अनुपम खेर अहिले नाम्चेबजार पुगेका छन् । सोही प्रयोजनको निम्ति सुपरस्टार अमिताभ बच्चनसमेत आउने भएका छन् ।

बलिउड फिल्म ‘उचाइ’ को सुटिङका लागि बलिउडका तीन जना चर्चित कलाकार नेपाल आइपुगिसकेका छन् । उक्त फिल्म सुटिङका लागि अनुपम खेर,बोमन इरानी र परिणीति चोपडा अघिल्लै हप्ता नेपाल आएर हेलिकप्टरमा नाम्चे पुगेका हुन् ।

अस्ति नाम्चेबजारबाट फर्केका उनीहरू झण्डै डेढ महिना नेपालमा बस्नेछन् । उनीहरू नेपाल आएसँगै नेपालका विभिन्न रमणीयस्थलको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

अनुपम खेरले नेपाल आएको भोलिपल्टै काठमाडौंमा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । अहिले नाम्चे पुगेर उनले नेपाल अति नै सुन्दर रहेको बताएका छन् । उनले आफूले अहिले देखिरहेको नेपाली भूभाग अभूतपूर्व रहेको समेत उल्लेख गरेका छन् ।

उचाइको सुटिङ लुक्ला,लाङटाङ, मनाङ,मुस्ताङलगायत अधिकांश उच्च हिमाली भूभागमा हुने बताइएको छ । फिल्मका निर्देशक सुरज बडजात्या हुन् भने फिल्म सुटिङका लागि अमिताभ बच्चन र डेनी डेनजोङ्पा समेत नेपाल आउने जनाइएको छ ।

टिप्पणीहरू