होशियार ! शरीरबाटै थुत्लान् गहना

होशियार ! शरीरबाटै थुत्लान् गहना

चाडबाडमा सर्वसाधारणको तडकभडक अलि बढी नै हुने गरेको छ । अरु बेलामाभन्दा यो बेला विशेषगरी महिलाहरु गरगहनाले झकिझकाउ भएर हिँडडुल गर्छन् ।

मौकाको ताकमा रहेका लुटेराहरुले पनि त्यस्तै ठाउँमा भेटे झ्यापझुप पार्न बेर लाउँदैनन् । चितवनमा हालै दुई ठाउँ यस्तै घटना भएको छ । मोटरसाइकलमा आएका लुटेरा महिलाले लगाएको गहना शरीरबाटै थुतेर बेपत्ता भएका छन् ।

आइतबार बिहान १० बजेको समयमा भरतपुर–११ स्थित बर्मेली क्याम्पको भित्री सडकमा अन्दाजी ४५ वर्षीया महिला लुटिइन् ।

कालो मोटरसाइकलमा आएका दुई जनाले महिलाले घाँटीमा लगाइराखेको दुई तोलाको सुनको सिक्री थुतेर लगेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भोलिपल्ट बिहान ९ बजेतिर भरतपुर–९ मा पनि त्यस्तै घटना भयो । एउटा मोटरसाइकलमा आएका लुटेराहरुले बेनी चोकनेर भित्रीबाटोमा ५५ वर्षीया महिलाले लगाइराखेको डेढ तोला सुनको सिक्री थुतेर भागे ।

लुटेराहरुको खोजी भइरहेको बताइए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नम्बर र मोटरसाइकलको ब्राण्डसमेत नखुलेका कारण पत्ता लगाउन कठिन भइरहेको डीएसपी अधिकारीले बताउनुभएको छ ।

‘यी मौका पाएपछि हुने खालका अवाञ्छित घटना हुन् । मान्छे एक्लैदुक्लै हुँदा,एकान्त ठाउँ वा भित्री गल्लीतिर,गुहार पनि नपाउने अवस्थामा यस्ता घटना हुन्छन्’, प्रहरी नायव उपरीक्षक भन्नुहुन्छ, ‘त्यस्तो बेला मान्छे आत्तिन्छ र लुटेराहरुले प्रयोग गरेको सवारी नम्बरसमेत टिप्न भ्याउँदैन ।’

चाडबाडको समय मात्र नभई अन्य बेलामा पनि आफ्ना बहुमूल्य गरगहनाहरु प्रदर्शन नगर्न तथा लाएर एक्लैदुक्लै, एकान्तमा नहिँड्न जिल्ला प्रहरी कार्यालय चितवनले जनसमुदायमा आग्रह गरेको छ ।

यस्तो बेलामा सवारी दुर्घटना र मापसेका कारण झैझगडा पनि बढी हुन सक्ने उल्लेख गर्दै प्रहरी नायव उपरीक्षक अधिकारीले चाडबाड भन्दैमा नियन्त्रण गुम्ने गरी मादक पदार्थ सेवन नगर्न र मादक पदार्थ सेवन गरी सवारी साधन कहिल्यै नचलाउन सबैमा अपिल गर्नुभएको छ।

– अजय गोर्खाली

टिप्पणीहरू