गजेन्द्र हमालको मन्त्रालयमा सूर्यबहादुरका छोरा ?

गजेन्द्र हमालको मन्त्रालयमा सूर्यबहादुरका छोरा ?

प्रधानमन्त्री शेरबहादुर देउवा गत साता मन्त्रीमा नियुक्त भएलगत्तै राजीनामा दिन बाध्य भएका गजेन्द्र हमालको ठाउँमा त्यस्तै खालको व्यक्ति ल्याउन इच्छुक रहनुभएको छ ।

पार्टीभित्रको समीकरणलाई ध्यानमा राखेर उहाँले केही समयअघि नेपाली काँग्रेसमा प्रवेश गरेका राप्रपा नेता सुनिलबहादुर थापालाई रिक्त पदमा नियुक्त गर्नेवारे छलफल चलाउनुभएको तर त्यो निर्णय कार्यान्वयन गर्न संबैधानिक अडचन रहेको बताइन्छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल यसअघि पनि सोही मन्त्रालयमा मन्त्री थिए । प्रधानमन्त्री देउवाले गजेन्द्र हमालको राजीनामापछि आफूले सम्हालेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पार्टी सहमहामन्त्री सुनिलबहादुर थापालाई दिने आशय राख्नुको राजनीतिक कारण रहेको स्रोतको दाबी छ ।

गत साता गरिएको मन्त्रिमण्डल पुनर्गठनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पक्षधरलाई भाग पुर्याइसकेकाले अब पूर्वपञ्चहरुको तर्फबाट सुनिललाई मन्त्री बनाउन के हुन्छ भनेर आफ्नो सर्कलमा सोधनी भएको हो ।

आसन्न १४ औं महाधिवेशनलाई लक्षित् गर्दै देउवाले निकटस्थहरुसँग उक्त प्रस्ताव अघि सार्नुभएको तर धनकुटाबाट ०७४ को चुनाव हारेको हुँदा त्यही प्रतिनिधिसभाको पाँच बर्षे कार्यकालभित्र मन्त्री बन्न सम्भव देखिन्न ।

टिप्पणीहरू