दशैं साहित्य, पाँच सेकेण्ड दुई आँखा चार भएपछि….

दशैं साहित्य, पाँच सेकेण्ड दुई आँखा चार भएपछि….

कहिलेकाहीँ नोस्टाल्जिया दिमागमा यसरी स्क्रोलिङ्ग भइदिँदो रहेछ कि चाहेर वा नचाहेर मनका आँखाले ती दृष्य हेरिरहन विवश हुने ।

टिभीमा स्क्रोलिङ्ग म्याटर नाचेभन्दा बढी नाच्दो रहेछ नोस्टाल्जिक दृश्य दिमागमा पनि । अझ दशैं र दशैंले जन्माएको कुरकुरे वयको मीठो अतितले त कहिले छोड्दो हो ? समयको चक्रले त्यो घटनाको तीन दशक हानिसक्दा पनि अहँ दिमागको सीपीयुले अझै डिलिट गर्न नसकेको त्यो अतित फेरि बल्झिएको छ,दशैंसँगै ।

अहिले रातोमाटो र कमेरोले पोतेका घरहरु ग्रामीण भेगमा समेत भेट्न मुश्किल भइसकेको छ । तर पनि दिमागको सीपीयुले भने फुरुरु त्यहि जमानाको श्यामस्वेत दृश्य प्ले गरी छाड्यो । दृश्यमा त्यो बेलाको गुल्मीको श्री हिमालय मावि र त्यहाँको दश कक्षामा पढ्ने किशोर किशोरीहरु ।

अनि अलि पर देखिए कमेरो लत्पतिएको एक किशोर र त्यहिँ देखिइन् रातोमाटोले अनुहार छोपिँदा झन् झन् रक्तिम देखिएकी एक किशोरी । किशोरीले पुलुक्क किशोरतर्फ आँखा लगिन् अनि किशोरका आँखा पनि फनक्क फर्किए किशोरीतिरै र दुई आँखा अनायास चार बने । त्यो क्षण पुग नपुग पाँच सेकेण्ड मात्रै थियो होला ।

पाँच सेकेण्डको घटनाले तीन दशकलाई समेत रोमाञ्चित बनाइरहेको छ । लाग्छ अब यसले छोड्दै छोड्दैन,बरु झन् झन् तिख्खरिलो बन्ने पो छाँट देखाउँदै छ त्यो पाँच सेकेण्ड । आँखा जुधाईको पुरानो मानसपटलको भिडियो भने यत्तिकै रि प्ले भएको होइन । त्यतिबेला आँखा जुधाएर तीस वर्ष हराएकी उनले नै हो विस्मृतिको छेउछाउ पुगेको श्यामस्वेत भिडियो रि प्ले गराएकी ।

त्यतिखेर आँखा जुधे अनि दुई आँखा चार हुन पुगे । आँखा जुध्नुभन्दा बढी कहिँ कसैले देख्यो कि भन्ने डर र आँखा जुध्नुको रोमाञ्चक क्षण डर र त्रासमै बित्यो । त्यहि कट्मेरो रमाइलोका बीच दशैँ आयो ।

रातोमाटो र कमेरोले स्कुल चिरीच्याट्ट पारेकै दिन अर्थात् आँखा चार हुँदाकै दिनबाटै स्कुल पनि बिदा भइहाल्यो । लगत्तै तिहार र मंसिरमा हुने टेष्ट परीक्षाले आँखा जुधाइको रौनक मनको कुनाभन्दा बाहिर निस्कन पाएन । उनलाई त के भो चाल पाइएन, मलाई भने त्यो घटनाले खुब कुत्कुत्याइ रह्यो ।

हिजोबाट थाहा भो तीस वर्ष पुरानो उक्त घटनाले उनलाई पनि चिमोटि रहेको रहेछ । मेरो किशोर मनले जे सोच्थ्यो उनको मनले पनि त्यहि सोचेको रहेछ । दशैंको टिकाको दिन छोरीको बिहेको निम्तो दिन फोन गरेकी उनले भनिन्, ‘साँच्चै भित्री मनको आँखाले हिम्मत जुटाएरै मैले तिमीलाइ हेरेकी थिएँ ।’ मैले पनि उनको आँखामा आँखा जुधाउन कम हिम्मत गरेको थिइनँ ।

जे होस् समयले आँखा जुधाउन लगाएको त्यो परिवेश,अहिले सम्झँदाको यो परिवेशमा तात्विक अन्तर छ । दुई आँखा जुधाईकाबीच कति लामो सीमारेखा हुँदोरहेछ, हिजो फोन वार्तामा हामीले साट्यौं ।

जीवनको एउटा विन्दुमा उभिएर समयको आर्कै छेको नियाल्नु आफैंमा अनौठो संयोग थियो, जुन हामीले अनुभव गर्यौं । आज हामी दुबैका आफ्नै सामाजिक बाध्यता छन् ।

अब दशैंको टिकाको दिन कुर्नु छ । छोरीलाई आशिर्वाद दिनु छ । तर तीस वर्ष पहिले पाँच सेकेण्ड जुधेका आँखालाई फेरि जुधाउन सकिन्छ सकिँदैन यो परीक्षा समयलाई नै छोडौं ।

(नवमी अर्थात असोज २८ गते बिहीबारको सम्झनामा )

टिप्पणीहरू