विदेश पुगेर महिला बनेपछि…

  • दीपेन्द्र राई

१० लाख रुपैयाँले काठमाडौंको पाखाभित्तामा चारआना जग्गा किन्न सकिन्छ । त्यति नै रुपैयाँ खर्चंदा एउटा टहरा बन्न सक्छ । पैसा चिन्नेले यो रकम खेलाएर राम्रै आयआर्जन गर्न सक्छन् । तर, सन्ध्या लामाले १० लाख रुपैयाँ खर्चेर गत साउन २४ गते लिंग परिवर्तन गरेकी छन् । 
उनले थाइल्याण्डको बैंककमा पुरुष अंग हटाएर महिला यौनांग प्रत्यारोपण गरेकी हुन् । झण्डै ६ घण्टा लगाएर अंग प्रत्यारोपणपछि पूर्णरूपमा महिला बनेकी छन् । ‘महिला यौनांग प्रत्यारोपण गर्ने पहिल्यैदेखिको इच्छा थियो,’ सहयात्री समाज वीरगञ्जकी कार्यक्रम संयोजक उनले सुनाइन्, ‘आर्थिक अभावले बल्लतल्ल रहर पूरा गर्न सम्भव भयो । लिंग परिवर्तनपछि असाध्यै खुशी छु ।’

जन्मँदा पुरुष भए पनि बिस्तारै महिलाको स्वभाव देखिन थालेको बताउने उनी शारीरिक अंगसमेत महिलाको भएकोमा दंग छिन् । घरपरिवारको सल्लाहमै लिंग परिवर्तन गर्न एक्लै थाइल्याण्ड पुग्दा चिकित्सकले विनासंरक्षक शल्यक्रिया नगर्ने भनेपछि इटालियन र कम्बोडियन साथीलाई साक्षी राखेर लिंग परिवर्तन गराएकी हुन् । लिंग परिवर्तन गरे पनि बच्चा जन्माउन सक्दिनन् किनकि पाठेघर छैन । पाठेघर नभएपछि सन्तानसुखको परिकल्पना गर्न सकिँदैन । तैपनि खुशी व्यक्त गरिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने सोच बनाएकी छु । अमेरिकामा पाठेघर प्रत्यारोण गरेर सन्तान जन्माउनेहरूको समाचार पढेकी थिएँ । म पनि ढिलोचाँडो यो काम गर्नेछु ।’ त्यसो भएपछि सन्तानसुख नहुँदा वैवाहिक जीवन कस्तो होला भनेर चिन्ता गर्नै पर्दैन । उनी विदेशी नागरिकसँग प्रेममा छिन् । 

लिंग परिवर्तनपछि ‘एनल’ र ‘ओरल सेक्स’ गर्नुपर्ने बाध्यता हटेको उनले बताइन् । झण्डै दश वर्षदेखि तेस्रोलिंगीका रूपमा परिचित उनको भनाइ छ, ‘अब पुरुष र महिलाले जस्तै सेक्सुअल रिलेसनसिप राख्न सकिन्छ ।’

हेटौंडा मकवानपुरनिवासी उनले झण्डै ६ वर्षअघि दुई लाख खर्चेर महिलाको झैं स्तन विकास गरेकी थिइन् । नागरिकतामा सञ्जीव लामा उल्लेख रहेकी उनी महिलाकै रूपमा नागरिकता निकाल्ने प्रयासमा छिन् । विश्व बैंकले सन् २००८ मा गरेको तेस्रोलिंगी सौन्दर्य प्रतियोगितामा ‘मिस व्युटी एण्ड ब्रेन’ को ताज पहिरिएकी उनले भोजपुरी चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने अवसर पाए नेपाली चलचित्र खेल्ने रहर भएको बताइन् । 

रहरैरहरले भरिपूर्ण मानवजीवनमा एउटा पूरा गरेपछि अर्को रहर लाग्नु अस्वाभाविक होइन । लामाले स्तनको शल्यक्रिया गरेको ६ वर्षपछि लिंग परिवर्तन गरिन् । अबको रहर के होला ? भनिन्, ‘पाठेघर प्रत्यारोपण गर्ने योजना बनाएकी छु । त्यतिमात्रै होइन, पुरुषको स्वर परिवर्तन गरी महिलाको जस्तै बनाउन घाँटीको शल्यक्रिया गर्ने रहर छ । त्यो पनि पूरा गरेरै छाड्नेछु ।’

टिप्पणीहरू