​पत्नी कराउने, पति जेलमा हराउने

भ्रष्टाचारीलाई कारबाही गर भन्दै रवीन्द्र मिश्रहरूसँग काँधमा काँध मिलाई श्रीमती सडकमा नारा लगाउने अनि श्रीमान्चाहिँ त्यहीबेला भ्रष्टाचारी ठहरिएर जेल जाने । सम्भवतः यस्तो घटना संसारमा कहीँ–कतै देख्न पाइँदैन । तर, नेपाल न हो, यहाँ नहुने के छ र ?

प्रसंग, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक सुवाष निरौला र श्रीमतीको हो । निरौलालाई भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतले ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानासहित सात वर्षको कैद सजाय तोकेको छ । 

गजब के भने विशेष अदालतबाट भ्रष्टाचारमा डामिएका सुवाषकी श्रीमती संगीता भने भ्रष्टाचारविरोधी ‘अभियन्ता’ हुन् । ‘सोसल वेलफेयर एजेन्सी एण्ड ट्रेनिङ इन्स्टिच्युट’ (स्वाती) की संस्थापक उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) लगायत संस्थासँग मिलेर भ्रष्टाचारसँग सम्बन्धित थुप्रै प्रोजेक्ट चलाएकी थिइन् । खासगरी महिलाको क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिए पनि स्वातीले ‘डोनर’ फेला पारेपछि भ्रष्टाचारविरुद्ध काम गर्न थालेको हो । त्यस क्रममा अमेरिकी सहयोग नियोग युएसएआइडी, डेनमार्कको सहयोग नियोग डानिडा ह्युगो, डिफिडलगायत थुप्रै दाताबाट उल्लेख्य आर्थिक सहयोग लिएको निरौलाको इन्टरनेट ठेगाना वुमन फाउण्डर्स ओआरजी÷संगीता निरौलामा उल्लेख छ । दाताको आर्थिक सहयोग र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललगायत संस्थाको सहकार्यमा भ्रष्टाचारविरोधी गतिविधि सञ्चालन गर्ने संगीता पटक–पटक ‘भ्रष्टाचारीलाई जेल होइन, माथि पु¥याउने व्यवस्था नगरेसम्म नेपाल सुध्रिँदैन’ भन्ने गर्थिन् । अर्थात् भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने कुराको वकालत गर्थिन् । 

त्यही कारण पछिल्लो समय राजनीतिक रूपमा विवेकशील साझा पार्टीको गतिविधिमा सक्रिय थिइन् । सुशीला कार्कीको महाभियोग प्रसंगमा होस् कि डा. गोविन्द केसीको अनशनमा– भ्रष्टाचारीलाई कारबाही माग गर्दै साझा पार्टीको ब्यानर लिएर माइतीघर मण्डलामा नारा लगाउन पुगिहाल्थिन् । कतिसम्म भने आफ्नै पतिविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको बेला ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा नारा लगाउँदै थिइन् । अर्थात् उनी आफंै भ्रष्टाचारमा लिप्त पति सुवाषलगायतमाथि कडा कारबाहीको पक्षपोषण गरिरहेकी हुन्थिन् । अहिले उनीसहितको मागअनुसार पति सुवाषलगायतलाई विशेष अदालतले जेल सजायसहित दण्ड जरिवाना तोकेको छ । यसबारे जानकारी लिन जनआस्थाले पटक–पटक गरेको प्रयास सफल हुन सकेन । तर, निरुत्तरित प्रश्न यथावतै छ– उनले भ्रष्टाचारको पैसा मेरो घरमा हुल्न पाउँदैनौ भनेर पतिलाई बेलैमा खबरदारी गर्न किन सकिनन् ?

टिप्पणीहरू