व्यापारीले अचाक्ली भाउ बढाएपछि धनगढीका ग्राहक भड्किए

व्यापारीले अचाक्ली भाउ बढाएपछि धनगढीका ग्राहक भड्किए

दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा धनगढीका व्यवसायीहरु चिन्तित भएका छन् । नेपालीहरुको सबैभन्दा ठूलो चाडको बेलामा समेत धनगढीका बजारमा चहल–पहल नभएको र सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।

चाडपर्वमा किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपालीहरु बढेसँगै धनगढी बजारको व्यापार घट्न थालेको हो । भारतीय सीमावर्ती वन गाउँमा भने नेपाली ग्राहकको भीड बढेको छ ।

धनगढीका व्यापारी मदनकृष्ण भट्टका अनुसार विगतमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेको धनगढी बजारमा कोरोना महामारीपछि व्यवसाय र बन्द व्यापार फस्टाउन सकेको छैन । उनले खुल्ला सीमानाकाको कारण सबैखाले व्यवसाय र व्यापार चौपट भएको गुनासो पोखे ।

उपभोक्ता अञ्जु घिमिरेले भने धनगढी बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न स्थानीयहरु भारतीय बजार पसेको अनुभव सुनाएकी छन् । चाडबाड शुरुपछि धनगढीका व्यापारीहरूले मनपरी भाउ बढाउने गरेकाले स्थानीय सीमा पारि जान बाध्य भएको घिमिरेले बताइन् ।

टिप्पणीहरू