​निस्कने र भित्रने कमरेडहरुका नाम

शनिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको अखिल नेपाल लेखक संघको केन्द्रीय समिति बैठकमा माओवादी–एमाले एकता प्रक्रियाबाट असन्तुष्ट १० जनामध्ये केही फिर्ता भएका छन् । मुलुकभर ६५ जिल्लामा संगठन रहेको संघको नेतृत्व १२५ सदस्यीय रहेको छ । जसमध्ये अध्यक्ष विष्णु भण्डारीलगायत पार्टीको तर्फबाट इञ्चार्ज रहेका विश्वभक्त दुलाल आहुति र सहइञ्चार्ज बलराम तिमल्सिनासहितले ‘पार्टी एकता धोका हो’ भन्दै नयाँ पार्टी गठनको घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी विप्लवतिर लागेका छन् । तर, केन्द्रीय सदस्य ठम गुरुङ र सचिव कला अनुरागी विद्रोही मोर्चा छाडेर मूलघरमै फर्किएको बताइन्छ । 

अहिले विष्णुसँग शैलेशलगायत चारजना केन्द्रीय सदस्य छन् । ठूला कम्युनिष्ट पार्टी अब एक ठाउँमा आउनुपर्छ, साम्राज्यवादलाई परास्त गर्न र स्वाधीनताको युद्धलाई पूर्णता दिन सबै वाम एक ठाम हुनुपर्छ भन्ने पक्षमा ११५ जना रहेका छन् । यसबीच विष्णु भण्डारीले समाजवादी लेखक संघ गठन गरेपछि पेरिसडाँडा बैठकले उनलाई आन्दोलनलाई पु¥याएको योगदानको कदर गर्दै बिदाइ गर्ने भन्ने शिष्ट भाषाको प्रयोगसहित संगठनबाट निश्कासन गरेको छ । उनले सम्हालेको जिम्मेवारी हाल केशव सिल्वाललाई दिइएको छ । संगीत स्रोताले भने संगठन छाडेका छैनन्, बैठकमा पनि आउँदैनन् । ‘पहिले अलिक धेरै नै क्रिया–प्रतिक्रिया दिइयो, अहिले मौनता नै ठीक छ’ भन्दै उनी चुपचाप रहेको, केन्द्रीय सचिव केवल बिनावी र कला अनुरागी रिसाउँदै बैठकबाट हिँडेको स्रोतको भनाइ छ । आहुति अहिले साथीहरुलाई बागबजारमा बोलाएर फकाउनमै व्यस्त रहेको अर्को रिपोर्ट छ । लेखकहरुको सो बैठकलाई पार्टीको तर्फबाट मणि थापाले संबोधन गर्दै भनेका थिए, ‘यो एकता भाँड्न विदेशी जर्नेलदेखि नेतासम्म उद्यत रहेछन् । लेखकहरुले त्यसविरुद्ध कदम चाल्नु जरुरी छ ।’

यसअघि जनसाँस्कृतिक महासंघले आयोजना गरेको अन्तक्र्रियामा विष्णु भण्डारीले रिपोर्टिङ गर्दै ‘लेखकहरु कोही पनि पार्टी एकताको पक्षमा छैनन् । त्यसैले यहाँ आएनन्’ भनेका थिए । जवाफमा पार्टी अध्यक्ष प्रचण्डले भने, ‘विष्णुजी, तपाईंहरु सुतेर बस्नुभएकोमा अहिले ब्युँझिनुभएछ, खुशी लाग्यो । कम्तीमा विचारका कुरा गर्न थाल्नुभएछ ।’ त्यसपछि उनले ‘के भन्या तपाईंले, यहाँ बसेका सबै के लाटा–लठेब्रा हुन् ? कुन मुखले यस्तो रिपोर्टिङ गर्दै हुुनुहुन्छ ? यस्तै चाला हो भने आफ्नो बाटो रोज्दा राम्रो हुन्छ’ भन्दै हप्काएका थिए । भण्डारीसँग कला अनुरागी, केवल बिनावी, प्रकाश गुरागाईं, शैलभ निस्केका छन् । स्वप्निल स्मृतिले चाहिँ ‘म गएको होइन’ भन्दै स्पष्टीकरण दिएको बताइन्छ । इन्द्रकुमार श्रेष्ठ ‘सरित’ र प्रमोद धिताल निष्क्रिय छन् । शकुन्तला जोशी भण्डारीकै टिममा छिन् । स्रोतका अनुसार आहुति र भण्डारीको पनि लाइन मिलेको छैन । गोपाल किराँती भने तत्काल विद्रोह नगर्ने मुडमा पुगेका छन् ।

टिप्पणीहरू