अन्तिम ८ मीनेटको खेल,नेपालले गर्दा सबैलाई मौका

अन्तिम ८ मीनेटको खेल,नेपालले गर्दा सबैलाई मौका

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ ।

शुरुआती दुई खेलमा रोमाञ्चक जीत निकालेको नेपालले तेस्रो खेलमा भने भारतसँग अन्तिम आठ मीनेट सम्हालिन नसक्दा पराजय व्यहोर्नु परेको हो । भारतसँग आइतबार पराजित भएसँगै साफ च्याम्पियनसिपको शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा भने थप रोचक बन्ने अनुमान गरिएको छ ।

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग पराजित भएपछि एक खेलअगावै फाइनलमा पुग्ने नेपालको लक्ष्य अधुरो बनेको हो । नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालको पोष्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो ।

साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतबाट पराजयसँगै एक खेल पर धकेलिएको हो ।

यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ । प्रतिस्पर्धा गर्ने चार वटै टोलीलाई सुखद् नतिजाले अघिल्लो चरणमा पुग्ने सम्भावना बढाएको छ ।

आज माल्दिभ्सको मालेमा भएको पत्रकार सम्मेलनमा बंगलादेशसँगको खेलमा नेपाली टोलीले जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य भएको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन् । अब लिगको अन्तिम खेलको नतिजाले आयोजक माल्दिभ्ससँगै नेपाल,भारत, बंगलादेशको टुङ्गो लाग्ने छ ।

सोही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको हो । श्रीलंकाले ४ खेल खेल्दा अन्य टोलीले ३-३ खेल खेलेका छन् । लिग तालिकामा समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।

साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने संघारमा रहेको नेपाली टोलीले भोलिको खेलमा इतिहास रच्ने नेपाली टोलीको दोस्रो रोजाइका गोलकिपर विशाल श्रेष्ठले बताएका छन् । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ ।

खेल बराबरी भएमा भने नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने जीत निकाले बंगलादेश पनि फाइनलमा पुग्ने छ ।

यस्तै आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोलीले प्रतियोगिताबाट बिदाई लिनेछ । ५ अंक जोडेको भारत खेलमा बराबरी भएमा प्रतियोगिताबाट नै बाहिरिनेछ । सोही अवस्था आयोजक माल्दिभ्सलाई समेत लागु हुनेछ ।

टिप्पणीहरू