प्रधानमन्त्रीका अंगरक्षक पक्राउ

कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको समिपमा बस्नेहरुले यो देशमा कस्ता–कस्ता धन्दा चलाइरहेका होलान् ? आममानिसलाई लाग्छ, ‘सरुवा, बढुवा, कमिसन त्यस्तै न हो !’ तर थोरैले मात्र कल्पना गर्छ कि दिनरात राष्ट्रपति र प्रधानमन्त्रीसँगै बस्नेहरु नै यो देशबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग तस्करीमा संलग्न हुन सक्लान् भनेर ।

यो तथ्य तब बाहिर आयो, जब रोटेशनमा उपराष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखसहित पाँचजना अति विशिष्ट पदाधिकारीको सुरक्षामा खटिने नेपाली सेनाका हुद्दा हरिबहादुर ढकाल र सिपाही कृष्णबहादुर मगर गैंडाका दुईवटा खागसहित पक्राउ परे । हाल जंगी अड्डामा थुनिएका उनीहरु अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयअन्तर्गत कार्यरत छन् । जसको प्रमुख हुन्, फूल कर्णेल विष्णु राउत । दरबारको उत्तरढोकाछेउबाट तीन करोडमा खाग बेच्न सौदाबाजी चल्दै गर्दा उनीहरु सँगै पक्राउ परेका भूपू सैनिक दिलबहादुर ढकाललाई भने प्रहरी हिरासतमा राखिएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा हेर्ने यो पल्टन नारायणहिटीभित्र छ ।स्रोतका अनुसार उनीहरुबाट बरामद खाग पुरानो हो ।

भन्ने जातीय राज्य, गर्ने तस्करी
प्रहरीले दिल्लीबाट ल्याइएको लगभग दुई सय किलो रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको छ । यसरी चन्दन तस्करी गर्नेमा भर्खरै दिवंगत कमल छाराहाङको पार्टी संघीय लिम्बुवान उपाध्यक्ष वर्ष ३६ का डिल्लीराम लिम्बू पनि छन् । पक्राउ पर्ने अन्यमा ३७ वर्षीय जनकबहादुर कार्की, ६७ वर्षीय कुमार गुरुङ र ३७ वर्षीय जनक पन्थी रहेका छन् । जनकले कालिमाटीबाट ल्याउँदै गर्दा सो रक्तचन्दन बरामद भएको हो । हाल उनीहरु वन विभागको हिरासतमा छन् ।

टिप्पणीहरू