शीतलनिवासको फोनले सनसनी

एमाले स्थायी समिति बैठकमा अत्यन्तै छरपष्ट हिसाबले एउटा विवादले प्रवेश पाएको छ । महिला, त्यसमाथि काठमाडौं उपत्यकाको नेवार जनजाति, पार्टीगत हैसियतमा पनि निकै वरिष्ठ, आधी आकाशले संसदीय मोर्चामा बलियो उपस्थिति जनाउन नसकिरहेको बेला सक्षम र अनुभवी भएर पनि मुलुककै पहिलो अनि एक मात्र मुख्यमन्त्री बन्ने अवसरबाट अष्टलक्ष्मी शाक्यलाई विमुख पारिएको घटनामाथिको चरम असन्तुष्टि थियो, त्यो । 

आइतबारको सो विवादमा एउटी महिलाको बाटो अर्की महिलाकै सक्रियतामा छेकिएको भन्दै विषयले निकै गम्भीर मोड लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र संसदमा पनि तेत्तीस प्रतिशत महिला उपस्थितिको प्रावधानबाट गुज्रँदा अरुलाई नमूना देखाउने राष्ट्र नेपालमा यस्तो चित्त दुखाइको निशानामा पर्नुभयो राष्ट्रपति विद्यादेवी भण्डारी । उहाँले विभिन्न नेता र गुटका ठूलाबडालाई आफैँले फोन गरेर डोरमणि पौडेललाई भोट हाल्न लबिङ गरेको आरोप लाग्यो । मुख्यमन्त्रीको कुर्सीनजिकै पुगेर हिस्स पारिएकी अष्टलक्ष्मीको दुखेसो थियो, ‘अध्यक्ष स्वयंले अघि बढ्नु भनेपछि म उठेकी थिएँ । डोरमणि कमरेडले राम्रो मन्त्रालयचाहिँ दिनुस् है भन्नुभएको थियो, मैले हुन्छ भनेँ । मलाई विकास निर्माणमा सक्रिय बन्न मन छ, भौतिक पूर्वाधार मन्त्रालय पाऊँ भन्नुभएको थियो, मैले त्यसमा पनि भैहाल्छ नि भनेकै हुँ । यसरी सबै कुरो मानेको मान्छेलाई रातारात महत्वाकांक्षी बनाएर उठ्न लगाई मलाई हराउने काम भयो । यसमा राष्ट्रपति नै संलग्न हुनुभयो । उहाँले डोरमणिको पक्षमा व्यक्ति व्यक्तिलाई फोन गर्नुभयो ।’

अष्टको थप आरोप थियो, ‘०५२–५४ को सांसद खरिदबिक्रीताका झैँ यसपटक पनि आफ्ना मान्छेलाई बेग्लै क्याम्पमा राख्ने, धम्क्याउने, लोभ देखाउने काम भयो ।’ शाक्यले गुटको पक्षमा गुण्डागर्दी नै भयो भनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल एकछिन जंगिएको बताइन्छ, ‘गुण्डागर्दी गर्न पाइन्छ ? पार्टीभित्रै यस्तो भाँडभैलो गर्न मिल्छ ? हामीले विद्याजीलाई राष्ट्रपतिमा पठाएको होइन ? अहिले अर्को महिलाका विषयमा चाहिँ स्वयं उहाँले यसरी चलखेल गर्ने ?’ भन्दै ।

प्रदेश ४ मा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले आधा–आधा कार्यकाल बाँड्ने र किरण सभामुख हुने सल्लाह पनि भएको छ । सोही बैठकमा अर्का उपाध्यक्ष युवराज ज्ञवालीले ‘राष्ट्रपतिले त्यसरी फोन गर्नुभयो वा भएन, प्रमाणित होस् । यदि उहाँले त्यसो गर्नुभएको भए त्यो गम्भीर भूल हो’ भनेपछि त्यसको प्रतिवाद गर्दै अध्यक्ष केपी ओलीको स्पष्टीकरण रह्यो, ‘होेइन होला, उहाँले त्यसो गर्नुभएन होला ।’

त्यसपछि केहीले एकमुख लागेर सोधे, ‘उहाँले भने÷नभनेको जिम्मा लिने तपाईं को हो ?’ पार्टी एकतासम्बन्धी प्रगतिबारे उपाध्यक्ष भीम रावलले प्रश्न गर्दा ओलीको जवाफ थियो, ‘उहाँहरुको पदीय व्यवस्थापनसम्बन्धी धेरै माग मिलाउन बाँकी छ ।’

समानुपातिकतर्फ पठाइएका नामहरुलाई अन्तिम रुप दिने क्रममा शर्मिला कार्की र जनजातितर्फ एघारौं नम्बरकी रणकुमारी बलम्पाकी मगर (सिन्धुली) ले प्राथमिकता पाउन सकेनन् । अमेरिकास्थित राजदूत अर्जुन कार्कीकी दिदी शर्मिला एनजिओ फेडरेसनकी पूर्वअध्यक्ष हुन् । यदि समानुपातिकमा परेको भए मन्त्री हुने सम्भावना प्रवल थियो । कांग्रेसले व्यापारी विनोद चौधरीलाई अघि सारेझैँ एमालेद्वारा प्रस्तावित मोती दुगडको नाम १ नम्बरमा नै रहेकाले उनको हकमा पनि कुनै समस्या भएन । यदि दुगडको नाम तुरुन्तै सर्वसम्मत हुन नसकेको भए मधेसबाट अन्य कुनै पुरुष एमाले समानुपातिक कोटामा पर्नसक्ने थिएनन् ।

टिप्पणीहरू