​मन्त्रीले उचाल्नासाथ जेल चलान

माओवादी युद्धताका लमजुङका गाउँगाउँमा माओवादीले गोरु–गाई कति काटे काटे । तिनताका थाहा पाएर पनि कसले प्रहरीमा उजुरबाजुर गर्ने ? माओवादीले कति बाहुनक्षेत्रीलाई बलजफ्ती गाई–गोरुको मासु खुवाउन मात्र सिकाएन, कारागारमा रहेका नेताका लागि ङादी, ताघ्रिङ, इलमपोखरी जस्ता लेकबाट सुकुटीको बिटै पठाउने गरेको थियो । खान त के छुनसमेत नहुने कृष्ण प्रणामी नेता नन्दराज लामिछानेले समेत जेलमा गाईको सुकुटी खान सिके । माओवादी पोलिटब्युरो सदस्य तथा लमजुङ इञ्चार्ज मोहनहरि पौडेल आफूलाई गाईको मासु निकै स्वादिलो लाग्ने बताउँथे । तिनताका जेलभित्र यस्ता सुकुटी प्रहरीकै माध्यमबाट भित्रँदासमेत कसैले वास्ता गर्दैनथे । तर, वर्षांैपछि गाई काटेको आरोपमा एकजोडी पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

माघ १० गते राति आठ बजेतिर जिल्ला प्रहरी कार्यालय लमजुङका निरीक्षक आनन्द बस्नेतलाई फोन आयो, ‘लौ हजुर यहाँ कसैले गाई काटेको छ ।’ हो वा हैन यकिन गर्न बस्नेतले फोन गरे । हैन साँचो हो भन्ने बूढो धोद्रो आवाजले बोलेपछि नपत्याउने कुरो भएन । तत्काल प्रहरी चौकी खुदीलाई खबर गरियो । सुराकीले दिएको ठेगानाभन्दा केही माथि अर्थात मस्र्याङ्दी गाउँपालिका–९ स्थित एकान्त जंगलको बीचमा पिलिपिलि लाइटको मधुरो ज्योतितर्फ करिब रातको १० बजेतिर प्रहरी टोली पुुग्दा सोही गाउँपालिका–२ बस्ने विलबहादुर तामाङका छोरा दुर्गाबहादुर र निजकी श्रीमती दिलकुमारी डेक्चीमा मासु बोकेर घरतर्फ हिँड्दै थिए, प्रहरीको फन्दामा परिहाले । सोही गाउँपालिका–७ बस्ने मनप्रसाद तामाङका छोरा १९ वर्षीय विजयचाहिँ फरार भए । घटनास्थलबाट प्रहरीले बञ्चरो, चक्कु, बाल्टिनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङ ल्यायो र मुलुकी ऐन चौपायाको महल एक निषेधितको ११ नं. बमोजिम मुद्दा चलायो ।

दुर्गाले आफू टिबीको विमार भएको र गाईको मासु खाए रोग काटिन्छ भन्ने चाल पाएकाले सो कसुर गरेको सकारेका छन् भने श्रीमती दिलकुमारीले आफूले गाई काट्न लागेको चाल नपाएको, सधैँ श्रीमान् रक्सी खाएर घर नआउने गरेकाले त्यो दिन उनको खोजी गर्दै जाँदा त्यहाँ पुगेको जिल्ला सरकारी वकिलसामु बयान गरिन् । प्रहरीले प्रक्राउ गर्दा हातमा बाल्टिन भएकाले दिलकुमारी पनि यो घटनामा निर्दाेष हुन नसक्ने दाबीका बाबजुद दुई नाबालक बच्चाको आमा भएकै कारण न्यायाधीशले स्वविवेक प्रयोग गरी उनलाई साधारण तारिखमा छाडिदिएका छन् भने दुर्गालाई पुर्पक्षका लागि आइतबार जिल्ला कारागार चलान गरिएको छ् । 

२८५४ औं सोनाम ल्होसार तथा बृहत् साँस्कृतिक कार्यक्रमकोे उद्घाटन गर्न गत शनिबार बेसीशहर आएका कानुन राज्यमन्त्री दिलमान घिसिङले पुर्खांैदेखि गाई–गोरुको मासु खाँदै आउँदा हिन्दू एकात्मक राज्यसत्ताले विभेद गरी तामाङ समुदायलाई दण्ड सजाय दिने गरे तापनि अब गाई–गोरु काटेर खाएकै कारण कसैले थुनिनु नपर्ने बताएको भोलिपल्टै सोही आरोपमा दुर्गामान पुर्पक्षका लागि जेल गएका हुन् ।

– अञ्जनकुमार

टिप्पणीहरू