​सिंहदरबारमा नयाँ सचिव

केपी ओली उपचारार्थ बारम्बार गइरहने थाइल्याण्डको राजधानी बैंककमा नेपाली राजदूत छन्, खगनाथ अधिकारी । स्पष्ट रुपमा वामपन्थी झुकाव राख्ने व्यक्तिको रुपमा परिचित उनले हरेकपटक ओलीसँग गुनासो पोख्ने गरेका छन्, ‘अब पनि सचिव बन्न पाइन भने ५८ वर्षे उमेरहद लागेर घर जाने दिन आइहाल्छ । त्यसैले हजुर सरकारमा आउनासाथ केही निर्णय होस् ।’

अब उनलाई सचिव बन्ने बाटो खोल्नका लागि उपाय खोज्न थालिएको बताइन्छ । माधव नेपाल परराष्ट्रमन्त्री भएकै बेला उनको निजी सचिव रहेका अधिकारी वामपन्थी नै रहेकोमा शंका गर्ने ठाउँ नरहेपछि विकल्पको खोजी गर्दै उनको इच्छा पूरा गरिदिने प्रयत्नमा ओली लागिपरेको स्रोतको दाबी छ । यसका लागि परराष्ट्रमा सचिव रहेकै बेला मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य र दुर्गा भट्टराईलाई अमेरिकाको न्युयोर्कमा पठाइएको घटनालाई पुनरावृत्त गर्नेबारे छलफल शुरु भएको छ । अब शंकर बैरागीलाई न्युयोर्क पठाइन सक्छ । सचिवको रुपमा उनको अढाई वर्ष कार्यकाल बाँकी नै छ । 

२०२२ सालमा जन्मिएका वैरागीले अझै जागिर खाने समय छ । त्यसो त युएई र मलेशियामा राजदूत पद खाली छ । भारतमा पनि दूतावास रित्तै छ । यी देशमा सचिवलाई पठाउने सवालै आएन । उता न्युयोर्क लैजान के सजिलो छ भने त्यहाँ दुर्गा भट्टराईको कार्यकाल गएको भदौमै सकिए पनि देउवाले आफू राष्ट्रसंघमा भाषण गर्न जानुपरेकाले म्याद थपेर राखेका छन् । उनलाई हटाउन कुनै गाह्रो पनि छैन । स्रोत भन्छ, ‘यसो हुँदा आउँदो साउनसम्म नै मात्र भए पनि अधिकारीलाई सचिव बनाउन सकिनेछ ।’ उता उनै अधिकारी प्रमुख रहेको बैंककमा सेकेण्ड सेक्रेटरी छन्, रमेश चर्मकार । उनले अहिलेको उपसचिव बढुवामा ‘म सिनियर हुँदाहुँदै प्रथमा उप्रेती, रोशना खनाल, उत्तम शाहीहरुलाई बढुवा दिइएको’ भन्दै मुद्दा हालेका छन् । 

टिप्पणीहरू