मोतिपुर घटनाले क-कसलाई अप्ठेरो ?

मोतिपुर घटनाले क-कसलाई अप्ठेरो ?

रुपन्देहीको स्थानीय राजनीतिबाट उठेर राष्ट्रिय राजनीतिमा राम्रै पकड जमाउन सफल गृहमन्त्री बालकृष्ण खाँण आइतबार बुटवलको मोतिपुरमा भएको दुःखद् घटनापछि अप्ठेरोमा परेका छन् । आफ्नै गृहजिल्लामा भएको गोली काण्ड र चार जना सर्वसाधारणको हत्यासहित सुरक्षाफौजकै हताहतीले मन्त्री खाँण अप्ठेरोमा परेका हुन् ।

मोतिपुरमा आफैंले रोपेको छ वर्षअघिको अराजकताको झ्याउलोले अहिले गाँजेको स्थानीय विश्लेषकहरु बताउँछन् । मुलुककै आवश्यकता भनिएको मोतिपुर औद्योगिक क्षेत्रमा भएको अनावश्यक राजनीतिक चलखेलले त्यहाँ आधुनिक औद्योगिक क्षेत्र बन्ने आशमा रहेकाहरु पनि निराश बनेका छन् ।

अर्कोतिर सोही क्षेत्रबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका नेताहरुप्रति पनि मोतिपुरको अस्तिको घटनाले ठूलै प्रश्नचिन्ह खडा गरिदिएको छ ।

नजिकिएको स्थानीय र आमनिर्वाचनले मोतिपुरलाई अझै तताउने निश्चित छ ।

यसअघि बुटवलका स्थानीय विष्णु पौडेल अर्थमन्त्री भएको बखत सोही औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाँदा त्यसबेला विपक्षी दलका नेताहरुको अगुवाईमा स्थानीयले लखेटेका थिए । गत साल फागुन २१ गतेको दोस्रो पटकको शिलान्यासमा पनि त्यस्तै भएको थियो ।

तत्कालीन अर्थ तथा उद्योगमन्त्री क्रमशः पौडेल र लेखराज भट्टलाई खेद्नेको समर्थनमा खाँण र एमाले उपमहासचिव घनश्याम भुसालले प्रेस विज्ञप्ती जारी गरेका थिए ।

उनीहरुले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा केपी ओली सरकारले सुकुम्बासीको अधिकार दिनदहाडै हडप्न खोजेको आरोप लगाइएको थियो । उनीहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई अधिनायकवादीको संज्ञासमेत दिएका थिए ।

केपी ओली नेतृत्वको सरकारले २०७२ चैत्र १ गते ५ वर्षभित्रमा सम्पन्न गर्नेगरी शुरु गरेको मोेतिपुर औद्योगिक क्षेत्र ९ सय ४६ बिगाहामा फैलिएको छ ।

नदीसँगैको उक्त जग्गाको धेरै भाग बुटवल उपमहानगर क्षेत्रभित्र पर्दछ भने बाँधी तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा पर्दछ । देशकै नमुना औद्योगिक क्षेत्र बनाउने भनिएको मोतिपुर पछिल्लो समय बिरोध,खेदाई र गोली हानाहानसम्मको अवस्थामा पुगेको छ ।

देशकै नेता बनेका स्थानीय राजनीतिज्ञहरुको तुषको शिकार बनेको मोतिपुरको विवाद तत्काल शान्त हुने अवस्थामा छैन । नजिकिएको स्थानीय र आमनिर्वाचनले मोतिपुरलाई अझै तताउने निश्चित छ ।

हिजो भोटको राजनीति अहिलेका पदाधिकारीले गरेका थिए । अहिले भने त्यो पासा पल्टिएको छ । उक्त तुरुप अहिले हिजोका मन्त्रीले खेल्न थालेको काँग्रेसीहरु बताउँछन् । त्यसैले सत्ता र भोटको राजनीतिको तुरुपभित्र मोतिपुर आगामी केही समयसम्म गुज्रिने पक्का छ ।

टिप्पणीहरू