मोतिपुरको हिंसात्मक घटनापछि अनेक बैठक,अनेक तर्क

मोतिपुरको हिंसात्मक घटनापछि अनेक बैठक,अनेक तर्क

अस्ति दिउँसो रुपन्देहीको मोतिपुरमा भएको सर्वसाधारण र प्रहरीबीचको दोहोरो भिडन्तमा विभिन्न ठाउँका चार जनाले ज्यान गुमाएका छन् । सुरक्षाकर्मी र सर्वसाधारण गरेर ७० जनाभन्दा बढी सख्त घाइते भएका छन् । स्थानीय औद्योगिक क्षेत्रको जग्गा हडप्न खोजेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोलीबाट उनीहरुको ज्यान गएको हो ।

घटनालगत्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको स्थानीय सर्वदलीय तथा सर्वपक्षीय बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रतिनिधि, बुटवल उपमहानगरपालिकाका उपमेयर,विभिन्न सुरक्षा निकायका प्रमुख,प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले चार वटा निर्णय गरेको छ ।

निर्णयमा मुख्य गरेर उक्त घटनाप्रति सबैले दुःख व्यक्त गर्ने र घाइतेहरुको स्वास्थ्यलाभको कामनासहित उपचारमा कुनै कमि हुन नदिने भनिएको छ । मोतिपुरमा लालपुर्जा भएका स्थानीयको जग्गा हकभोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने अर्को सहमति छ ।

त्यसैगरी जग्गा अतिक्रमणमा संलग्न सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने र औद्योगिक क्षेत्रका जग्गा अतिक्रमण हुनबाट जोगाउन सबै राजनीतिक दल तथा समूहले समन्वय गरेर सुरक्षा निकायलाई सहयोग पुर्याउनेमा समेत सर्वसम्मति छ ।
हिजै बुटवलमा प्रमुख जिल्ला अधिकारी तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मृतक चार जनाप्रति हार्दिक श्रध्दाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको छ । निर्णयमा भनिएको छ,‘पीडित परिवारलाई उचित राहत प्रदान गर्न प्रदेश सरकार र नेपाल सरकारलाई अनुरोध गर्दै घटनाको छानबिन गरी यस्ता घटना भविश्यमा हुन नदिन यथार्थ विवरण बाहिर ल्याइनेछ ।’

हिजै बिहान गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाकर्मीहरुले बाध्य भएर आत्मसुरक्षाको निम्ति गोली चलाउँदा बुटवलमा दुःखद घटना भएको निश्कर्ष निकालेको थियो ।

आजै गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा उल्लेख छ । भनिएको छ,‘कसैको बहकाउमा परी यस किसिमको गैरकानुनी कार्यमा संलग्न नहुन नेपाल सरकार सबैमा अनुरोध गर्दछ ।’

टिप्पणीहरू