​नाकै ठोक्किने गरी नमज्जा

केही लाख कमिसन पाइयो भन्दैमा सरकारी कर्मचारीले कर्तव्य र दायित्वप्रति लत्तो नै छाडिदिनुपर्छ ? शहर कुरूप भएको र आर्थिक चलखेलका कारण भ्रष्टाचारसमेत बढेको भन्दै सर्वोच्च अदालतले काठमाडौं महानगरका सम्पूर्ण होर्डिङ बोर्ड हटाउन आदेश दिँदासमेत नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी र व्यापारीको मिलेमतोमा विदेशी यात्रु ओर्लनासाथ नाकैमा ठोक्किने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा अशोभनीय शैलीका होर्डिङ बोर्डहरू ठड्याइराखिएको छ ।

सर्वोच्चको आदेश पालना गर्ने निकाय काठमाडौं महानगरपालिकाले आफ्ना प्रहरी पठाएर हटाउन खोज्दा प्राधिकरणका निर्देशक प्रेमनाथ ठाकुरले उल्टै उनीहरूलाई थुनाएका छन् । एउटा होर्डिङ बोर्ड ठड्याएर कुनै कम्पनी वा उत्पादनको विज्ञापन टाँसिदिएबापत वार्षिक ९ लाखभन्दा बढी असुल्न पाइने भएपछि विदेशी यात्रुहरूको समेत आँखै तिर्मिराउने गरी राखिएका ५० वटा बोर्ड कसले हटाउने ? यस्ता ५० वटा होर्डिङ बोर्ड मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नै कुरूप हुनेगरी राखिएका छन् । बिचौलियाले ५० वडा बोर्डबाट वार्षिक ४ करोड ५० लाखभन्दा बढी रकम उठाउँछन् र यसबाटै उड्डयन प्राधिकरणका प्रमुखदेखि एयरपोर्ट जिएम र त्यहाँका कर्मचारीलाई अतिरिक्त लाभ पु¥याइरहन्छन् । केहीअघि उनले एयरपोर्टमा कार्यरत प्राधिकरणका कर्मचारीलाई व्यापारीसँग रक्सी उठाएर नगरकोटमा लगी नचाएका थिए । यी सबै असंगत कामलाई बढुवा भएर नेपालगञ्जमा पदस्थापन हुँदा पनि नगई एघारौं तहका प्रेमनाथले पूर्ण साथ दिइरहेका छन् । 

प्रेमनाथ र विभागका महानिर्देशक सञ्जीव गौतमका कारण विमानस्थलमा निर्माण गर्न लागिएको बाटो पनि होर्डिङ बोर्डले गर्दा रोकिएको छ । यो तथ्यसहित खुलाएर प्राधिकरण कार्यालय एयरपोर्टकै कर्पोरेट शाखाले ‘त्रिभुवन विमानस्थलको आगमनतर्फ हुँदै बाहिर निस्कने नयाँबाटो निर्माण गरिने भएकाले त्यस स्थानमा राखिएको विज्ञापन बोर्ड हटाउन अनुरोध’ भनी पत्र लेखेकोमा हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन ।

टिप्पणीहरू