दश मिनेटको देरीले

१० मिनेटको ढिलाइले एकजना ‘जुवाडे’को राष्ट्रियसभा यात्रा रोकिन पुगेको छ । प्रसंग हो सर्लाहीका मिनी क्यासिनो मालिक नरेन्द्र साह कलवारको । पूर्वसभासद् महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टीलाई डेढ करोड रुपैयाँ चढाएर समानुपातिक सभासद् बन्न सफल साह संसद्को श्रम समितिमा सदस्य थिए । सोही बेला समिति सभापति प्रभु साहसँग हिमचिम बाक्लो बनाउन सफल भए ।

त्यसैको प्रभावका कारण क्यासिनो हेर्ने पर्यटन मन्त्रालयसम्म पहुँच बढाउन भ्याए । यतिसम्म कि प्रभु साहले निकालेको भोजपुरी क्यासेटमा समेत उनैको लगानी । अहिले पर्यटन मन्त्रालय सम्हालेका जितेन्द्रनारायण देवलाई प्रभावमा पारेर उनैले तत्कालीन पर्यटनसचिव शंकरप्रसाद अधिकारीको विमति र कानुन मन्त्रालयको रायविपरीत एक जना सञ्चालक या कम्पनीले एउटै मात्र मिनिक्यासिनो चलाउन पाउने व्यवस्था विपरीत चार वटासम्म चलाउने छुट पाएका हुन् । दुई नम्बर प्रदेशका माओवादी नेताहरूलाई हातमा लिएर फेरि राष्ट्रियसभाको सदस्य बन्ने तयारीमा लागेका साह दश मिनेटको ढिलाइले गर्दा जनकपुरस्थित निर्वाचन कार्यालयमा पुग्न भ्याएनन् । उनको स्थानमा राजपाका विषेसचन्द्रलाल निर्विरोध निर्वाचित भइसकेका छन् । यदि, साहले उम्मेदवारी दिन भ्याएको भए करोडौं खर्च गरेर भए पनि जित्ने चर्चा थियो । दश मिनेटको ढिलाइले उम्मेदवारी नै दर्ता हुन नपाएपछि उनको लगानी सांसद रामेश्वर राय यादव र प्रभु साहहरूले फिर्ता गर्लान् कि नगर्लान् ?

उनले यसअघि सर्लाही–३ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गाउँमा बलात्कार काण्डमा मुछिएपछि परिवारले समेत साथ नदिएका साह युवावस्थामै काठमाडौं छिरेका हुन् । गजेन्द्रनारायण सिंहको शरणमा पुगेका साह रामेश्वर राय यादवसमेतको सहयोगमा खिचापोखरीतिर पिसिओ सञ्चालन गरी बसे । खोभारी रायले सर्लाहीबाट राप्रपाको उम्मेदवार रूपमा चुनाव जितेपछि साह र उनको हिमचिम बाक्लिएको थियो । मदिरा, जुवा र केटीका मामलामा बदनाम खोभारीसँग साहको चरित्र मिल्दो थियो । त्यही बेलादेखि क्यासिनोको लत लागेका साहले सबैसँग पहुँच बढाएर आफैं मिनी क्यासिनो सञ्चालन गर्ने अवस्थामा पुगेका हुन् ।

वीरगञ्जमा समेत सञ्चालित उनका मिनी क्यासिनो अन्यत्र पनि विस्तारित भएका छन् । उनी त्यही एउटा घेरामा मात्रै बाँधिएनन्, त्यसपछि नेपाल–भारत सिमानामा सामान ओसार–पसार गर्ने पेशा अंगाले । क्यासिनोमा आउने देशी तथा विदेशी युवतीलाई समेत प्रभावमा पार्न सिपालु उनले एउटी क्यानेडियन युवतीलाई भने श्रीमती नै बनाएको बताइन्छ । समाज सेवाको नाममा पनि गाउँतिर चारो फाल्न सिपालु उनले आफ्नो अवैध आम्दानीबाट जनताको मन जित्ने प्रयास नगरेका होइनन् ।

– राजकुमार राय

टिप्पणीहरू