राजा नभएकोमा कमल थापाको पीर,अदालत छैठौं दल भएको सुवासको आरोप

राजा नभएकोमा कमल थापाको पीर,अदालत छैठौं दल भएको सुवासको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकबिहिन भएको दाबी गर्नुभएको छ ।

राप्रपा नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आज काठमाडौंमा आयोजित स्मृतिसभा तथा प्रतिष्ठान स्थापना दिवसको उपलक्ष्यमा उहाँले मुलुकले राजसंस्थासँगै अभिभावक पनि गुमाएको टिप्पणी गर्नुभएको हो।

संविधानसभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले कोल्टो फेर्न नसकेको भन्दै थापाले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउनु भयो । मुलुकमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै उहाँले देश बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको दाबी गर्नुभयो ।

सोही कार्यक्रममा पुग्नुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतमाथि कठोर टिप्पणी गर्नुभयो । उहाँले ५ दलको गठबन्धनमा छैठौँ दल बनेर अदालत मिसिएको घटनाक्रमले प्रमाणित गरेको बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणातर्फ व्यंग्य गर्दै नेम्वाङले आफ्नो मान्छे मन्त्री बनाएर गठबन्धन सरकारमा अदालत छैटौं दलका रुपमा समावेश भएको आरोप लगाउनु भयो ।

नेम्वाङले नागरिक समाज र राजनीतिक दलहरुले यसबारे छलफल गर्नुपर्ने अवस्था आइसकेको पनि उल्लेख गर्नुभयो ।

गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको अर्को नेता डा. प्रकाशचन्द्र लोहनीको आरोप छ ।

टिप्पणीहरू