​घरघरमा अनेकथरी घमासान « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​घरघरमा अनेकथरी घमासान

प्रकाशित मिति :  २६ माघ २०७४, शुक्रबार १४:११


न यौवन खस्केको छ न त कुनै शारीरिक कमजोरी नै ! मेडिकल रिपोर्टमा पनि कुनै खोट देखा परेन । बिहे भएको १७ वर्ष पुगिसक्दा पनि सन्तान नभएपछि घरपरिवारको दैनिक टोकासो, श्रीमान्को शारीरिक तथा मानसिक यातना त कति हो कति !

मर्ने–बाँच्ने कुनै ठेगान थिएन । द्वन्द्वको चरम समय ०५८ सालमा तनहँु सिसाघाटकी कान्ति श्रेष्ठको साविक रम्घा गाविस–४ दुईपिप्लेका गणेशकुमार श्रेष्ठसँग विवाह भएको हो । परिवार खासै राजी थिएनन् नेपाली सेनाका गणेशसँग विवाह गराइदिन । तर, गणेशले हिर्काे छाड्नु र कान्तिले पनि अनिच्छा नदेखाउनु । सुन्दरता मात्रै छैन, उत्तिकै लगनशीलताका कारण गाउँमै दुःखजिलो गरेरै पनि काठमाडांैमा दुई÷दुईवटा घडेरी जोड्न सफल भइन् । यसैबीच गण्ोश पनि शान्तिसेनामा हाइटी पुगे । ६ महिनापछि फर्कंदा परिवारका सदस्यले कान फुक्न थाले । यसमा सबैभन्दा ठूलो भूमिका (जेठाजु बलराम श्रेष्ठ जो नेपाल प्रहरीको असइ थिए) ले खेले । 

सन्तान नभएपछि अर्को बिहे गर्न परिवारको दबाब भए पनि सैनिकमा रहेकाले श्रीमतीको इच्छाविपरीत केही गर्न सक्ने भएनन् । श्रीमतीसँग खासै छुट्टिन नचाहे पनि परिवारले अनेक कुरा लगाएर मिल्न नसक्ने भएपछि नै गणेशले श्रीमतीलाई कुट्न र गाली–बेइज्जती गर्न थाले । यसै क्रममा कान्ति काठमाडांै बस्न थालिन् । नेपाली सेनाका सुवेदार गणेशले दैनिक किचलो निकाली झगडा गर्न थाल्ने, ससुराबाहेकले बलेको आगोमा तेल थप्ने । सत्र–सत्र वर्षको सम्बन्धमा दरार पैदा भएपछि अंश मुद्दासहित कान्ति जिल्ला अदातल लमजुङ पुगिन् । अदालत परिसरमै जेठाजुले सम्पत्ति खर्लप्प पारेर पोइल जान खोजेको भन्दै तथानाम गरे । कान्तिले काठमाडांैस्थित घडेरी र दुईपिप्लेको खेतसहित अंश दाबी गर्दै मुद्दा हालेकी थिइन् । बाँझी, थारी, बेता बसेकी अलच्छिनी मात्र भनेनन् अनेक लाञ्छना लागेर गहभरि आँसु पार्दै कान्तिले अदालतसामु दुःखेसो पोख्दै गर्दा छेवैमा बसेका लोग्ने गणेश मलिन देखिए पनि जेठाजुले नखरा पारेकी भन्दै उकेरा लगाए । अन्ततः काठमाडौंको दुइटै र दुईपिप्लेमा रहेको एउटा घडेरी पास गरिदिने शर्तमा कान्ति र गणेशको झण्डै दुई दशकको सम्बन्ध गत हप्ता मात्रै तोडियो । सम्बन्ध तोडिए पनि कान्तिले गणेशप्रति कुनै वैरभाव नराखी अर्की श्रीमती ल्याएर बच्चाबच्ची भए आफूले सम्पत्ति मात्रै होइन बच्चाको लालनपालन गर्ने वचन दिएकी छन् ।

०६८ सालमा पटक–पटक धाएर विवाह गरेका सुन्दरबजार नगरपालिकाका जगत्् मिश्रले एक छोराकी आमा लक्ष्मीलाई सात लाख दिएर अलग भए । जिल्ला घरेलु कार्यालय लमजुङको कर्मचारीका रहेका जगत््ले प्लस टु पढ्दै गरेकी भार्ते गाविस देउरालीकी लक्ष्मीलाई बच्चा जन्माएको वर्षदिन नपुग्दै अनेक बहानामा पिट्न थाले । लोग्नेकै मन पर्न नसकेपछि अरू कसको मन पर्नु र ! लक्ष्मी वर्षदिनको बच्चा लिएर माइती बस्न थालिन् । डेढ वर्षको बच्चालाई जगत्का परिवारले छुटाएर लगे । माइतीमै बसेको बखत जगत्ले अर्काे विवाह गरेको लक्ष्मीले धेरैपछि मात्र चाल पाएर अंशसहित बहुविवाहमा मुद्दा हालिन् । बाबुले भएभरको मूल्यवान जग्गा श्रीमतीको नाममा गरी जगत्लाई पाखोबारी दिएर अंशभिन्न गरेको नाटक गरेछन् । केटाको नाममा खासै त्यस्तो सम्पत्ति नदेखिएपछि लक्ष्मीको पक्षमा पैरवी गरिरहेका वकिल कृष्णप्रसाद अधिकारीले एकमुष्ट रकम लिएर सम्बन्धविच्छेद गर्न सुझाव दिएअनुसार नै दश लाखको माग गरेकी लक्ष्मीलाई सात लाख दिएर उम्किएका जगत् अदालतमै लौ पैतालाको खिल झिकेर फ्याँकियो भन्दै बाहिरिए ।

कुन्छाका उमेश श्रेष्ठसँग विवाह गरेकी मध्यनेपाल नगरपालिकाकी रिना श्रेष्ठको सम्बन्ध पनि ८ वर्षमै टुट्यो । लोग्ने विदेश हिँडेपछि रिना काठमाडांै झरिन् । उमेशले विदेशबाट फोन गर्दा नउठाउने, विदेशबाट पठाएको पैसाको हिसाब खोज्ने भएपछि रिना खान–लाउन नदिएको, मानसिक तथा शारीरिक यातना दिएको भन्दै जिल्ला अदालत पुगिन् । गत शुक्रबार मात्रै सम्बन्धविच्छेद गरेकी उनले उमेशसँग भने सम्पत्तिको कुनै मागदाबी गरिनन्, खाली हात सम्बन्धविच्छेद गरे पनि ७ वर्षकी छोरी आफैंसँग भएकीले उसको लालनपालनका लागि भरिभरण माग गरिन् । उमेशले अदालतसामु आफूले श्रीमतीलाई त्यस्तो कुनै लाञ्छना नलगाएको र सँगै बस्न राजी भएको बताए पनि रिनाकी आमाले नै अब फुटेको हाँडी जोडिन्छ र ? मिलमिलाप केन्द्रमा लामो छलफल गरेर मिलाउन खोजे पनि अन्ततः यो जोडी छुट्टियो । 

जिल्ला अदालत लमजुङमा अहिले दैनिक दर्जनांै अंश र सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका छन् । अधिकांश लोग्ने विदेश भएका श्रीमान्÷श्रीमतीबीच नै मुद्दा परिरहेका बेला इलाका प्रहरी कार्यालयमा कार्यरत गोर्खा जिल्ला घर भएका प्रहरी हवल्दार रमेश खनाल भोटेओडार पैरेकी दुई बच्चाकी आमा शर्मिला भुजेलसँग लागेपछि चर्काे लफडा मच्चिएको थियो । 

पूर्वतिरको केटोसँग विवाह भए पनि लोग्नेलाई कतार पठाएर माइतीघरमै बस्दै आएकी शर्मिला स्थानीय निर्वाचनताका म्यादी प्रहरीमा भर्ती भएकी थिइन् । म्यादी घर्तीसँग रमेशको हिमचिम बढ्नुको नेपथ्यमा कतारी रियाल पनि थियो । तर, यो कुरा रमेश र शर्मिलाबीच मात्र सीमित रहेन भोटेओडारभरि गन्हाएकै थियो त्यो गन्ध चितवनको एक निजी विद्यालयमा अध्यापन गराउने रमेशकी श्रीमतीले चाल पाएपछि सुटुक्क भोटेओडार आइन् । सिउँडीबारस्थित बबिता होटलमा बसिरहेका दुवैलाई समातेर प्रहरी कार्यालय पु¥याइन् र शर्मिलाको कपाल लुछिन् । शर्मिलाले रमेशलाई नछाड्ने अड्डी कसिन् । प्रहरी कार्यालय परिसरमा बसेको कचहरीकै अगाडि हवल्दारको नाकैमा औंला ठोस्दै यसको आँखा फुटेको थियो र किन मलाई बर्बाद पा¥यो ? म यसलाई पानीमुनि गए पनि छाड्दिन भन्दै चिच्याइन् । साँझ पर्न लागिसकेको थियो, भोलि १० बजे फेरि बस्ने भनी आ–आफ्नो घर लागे सबै जना । शर्मिला बिहानै प्रहरी कार्यालय पुग्दा रमेश थिएनन् । रातारात बाटो तताएछन् श्रीमतीलाई लिएर । गत मंगलबार मात्रै शर्मिलाको लोग्ने पनि आइपुगेको । घडेरी किन्न पैसा पठाएका श्रीमान्ले पनि हिसाब किताबमा चित्त बुझाउन नसकेपछि यो जोडी पनि कुन दिन अदालत पुग्ने हो थाहा छैन ।

– अञ्जनकुमार हिमाली 


प्रतिक्रिया दिनुहोस !