ओइरिनै लागे अफगानी शरणार्थी

ओइरिनै लागे अफगानी शरणार्थी

हामी गरिब र भारत धनी देश भएर के भयो त, नेपालले विश्वका विभिन्न सातभन्दा बढी मुलुकबाट आन्तरिक समस्याका कारण बस्न नसकी आएका नागरिकलाई शरण दिएको छ । तर, धनी देश भारतले त्यस्ता दया गर्नुपर्ने, अर्थात् शरण दिनुपर्ने मानिसहरूलाई आफ्नो देशमा ढिम्किन दिनै छाडिसक्यो ।

भारतले आफ्नो देशमा घोषित रुपमा शरणार्थी नराख्ने कारण अझै पनि शरणार्थीको बोझ नेपाललाई थपिने सम्भावना बाँकी छ । जस्तो कि, त्यहाँ म्यानमारका रोहिंग्या शरणार्थीको संख्या ४० हजार छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अभिलेखित गरे पनि भारतले त्यो संख्याका शरणार्थीलाई औपचारिक रुपमा स्वीकार गरेको छैन ।

म्यानमार भारतको राजधानी दिल्लीबाट सुदूर पूर्वतर्फ निकै टाढा पर्छ । र, रोहिंग्याहरू आफ्नो देशबाट भागेर उत्तरी भेग काश्मिर क्षेत्रको मुसलमान बस्तीमा छिर्ने गरेका छन् । भारतीय सुरक्षाकर्मीले तिनलाई देख्नासाथ धरपकड र विभिन्न किसिमले दुव्र्यवहार गर्ने गर्दछन् । निश्चित छ, भारतले धेरै दिन आश्रय दिँदैन र उनीहरू कुनै न कुनै नाकाबाट एक दिन नेपालमा छिर्ने नै छन् । खुल्ला सिमाना भएको कारण यता नेपाल सरकारसँग भने यस्ता शरणार्थीको बोझ नबढाउने कुनै नीति छैन । न यहाँ शरण लिएकाहरूलाई व्यवस्थित रुपमा राख्ने पूर्वाधार नै छ ।

नेपालमा १२ तिब्बती क्याम्पसहित ७ बाट घटेर २ वटा भूटानी शरणार्थी शिविर छन् । तर, रोहिंग्या (म्यानमार) सहित बंग्लादेश, इराक, श्रीलंका, अफगानिस्तान, पाकिस्तान, सोमालिया, नाइजेरियाजस्ता मुलुकका शरणार्थी कहाँ–कसरी बसेका छन् भन्नेबारे सरकार राम्रोसँग जानकार छैन ।

युएनएचसिआरको अभिलेखमा भने ती देशका शरणार्थी नेपालमा छन् भन्ने उल्लेख छ । यसमध्ये अहिले नेपालमा ३ सय ५० जना रोहिंग्या शरणार्थी बसिरहेका छन् । उनीहरू काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १० (बालुवाखानी), ११ र १३ (चुनिखेल) तथा कपनमा सुकुम्बासीले जमिन ओगटेको शैलीमा बस्दै आएका छन् । अब छिट्टै अफगानीहरू भारत भएर ओइरिने तयारीमा छन् ।

पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा बसेका धेरैजसो भूटानी शरणार्थीलाई अमेरिकाले उद्धार गरी लगिसकेको छ । त्यसरी सन् २००७ सम्म १ लाख ४ हजार भूटानी शरणार्थी तेस्रो मुलुकतर्फ (अमेरिका) स्थानान्तरण भए । तर, अझै पनि ती जिल्लाका विभिन्न शिविरमा ६ हजार ५ सय भूटानी शरणार्थी बाँकी छन् । नेपाली भाषी ती शरणार्थी फिर्ती भए भूटानमा, नभए नेपाली भूमिमै मर्न चाहन्छन् ।

टिप्पणीहरू