विप्लवसँग चौथो बुँदाबारे ओलीको बात : हाम्रा हतियार कोशीको डिलमा गाडियो

विप्लवसँग चौथो बुँदाबारे ओलीको बात : हाम्रा हतियार कोशीको डिलमा गाडियो

‘हामीले त कोशीको डिलमा गाडिदियौँ नि !’ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ०२८ सालको झापा विद्रोहमा प्रयोग भएका हतियार सप्तकोशीको डिलमा गाडेको खुलासा गर्नुभएको छ, विद्रोहबाट खुला भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) हरूसँग । तत्कालिन परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदीप ज्ञवालीले केही निकटस्थका बीच केपीले त्यस्तो भनेको बताउनुभएको हो ।

सरकारसँग तीन बुँदे सम्झौता गरी गत वर्ष असोज १९ गते नवलपरासीमा सार्वजनिक भएर भोलिपल्ट बालुवाटारमा वार्ता गर्न पुगेका विप्लवहरूसँग ओलीले चौथो बुँदाका रुपमा हतियारको प्रसंग निकाल्नुभयो । विप्लवले सोध्नुभयो, ‘तपाईंहरू पनि त ०२८ सालमा हतियार बोकेरै आउनुभएको हो ।

अहिले ती हतियार कहाँ छन् भनेर प्रश्न उठ्यो भने के भन्नुहुन्छ ?’ ओलीले जवाफ दिनुभयो, ‘ए, त्यो त उहिल्यै कोशीको तीरमा गाडिदियौँ ।’ अनि, विप्लवले भन्नुभयो, ‘त्यसो भए हामीसँग अब यस्तो प्रश्न नगर्नुहोला !’ यसरी तीन बुँदे सम्झौतापछि पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा त गरियो, तर त्यसबाहेकका कुनै पनि प्रतिवद्धता पूरा नगरिएको भन्दै अहिले देउवा सरकारसँग विप्लवहरू आक्रोशित छन् ।

ओलीसँग गरेको सम्झौतालाई लिएरमात्रै हैन, देउवा सरकारको रवैयासँग पनि उनीहरूमा असन्तुष्टि छ । उनीहरूले पोखरा र काठमाडौंमा गरेका कार्यक्रमपछि नेपाली सेनाले अहिले पनि विप्लवहरू सुरक्षा चुनौतिका रुपमा रहेको धारणा सार्वजनिक ग¥यो । त्यसपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक सन्दर्भमा तीन बुँदेको प्रसंग निकाल्दै प्रश्न गरेका थिए, ‘चौथो बुँदा खै ?’ यी दुईका कुरा सुनेपछि विप्लवको बुझाई छ, ‘सरकारले योजनाबद्ध रुपमा हामीलाई सिध्याउन यस्ता अभिव्यक्तिहरू आइरहेका छन् ।’

एमाले नेता प्रदीप ज्ञवालीसँग संवाद गर्ने विप्लव समूहका एक नेताले उनलाई सुनाए, ‘हेर्नुस् त, त्यसबेला कांग्रेसको सरकार भइदिएको भए हतियारको कुरा निकाल्ने र प्रतिबन्ध फुकुवा गर्न त्यसैमा झमेला निकाल्ने रहेछन् नि !’ किनभने, ओलीले समेत ‘थोत्रामोत्रा भए पनि, देखाउनका लागि हतियार त ल्याउनुस् न’ भनेको ती नेताले ज्ञवालीसँगको कुराकानीमा स्मरण गरेका छन् ।

नेकपादेखि एमालेसम्मको विभाजनप्रति विप्लवहरूको बुझाई छ, ‘ओली अमेरिकाको, माधव भारतका, प्रचण्डको विश्वास नै छैन । माधव अलिक सजिला छन् । एमालेको विभाजन व्यक्तिगत तुषको उपज हो ।’ विप्लवहरूलाई प्रचण्डबाट क्रान्ति सम्पन्न हुन्छ, प्रगतिशील सत्ता निर्माण हुन्छ भन्ने विश्वास नरहेको कुरा हालै सम्पन्न बैठकमा व्यक्त गरिएको छ । त्यसैले प्रचण्ड नेतृत्वको माओवादी आन्दोलन विसर्जनको सम्मुखमा पुगेको उनीहरूको निश्कर्ष छ ।

प्रचण्डका कतिपय नेताहरू अझै पनि कोही एमालेमा, कोही एकीकृत समाजवादीमा जाने र प्रचण्डसँग आफ्नो कोटरीका सीमित नेतामात्र रहने निश्कर्ष उनीहरूले निकालेका छन् ।

टिप्पणीहरू