एमालेले अवरोध गर्दागर्दै रेल्वे विधेयक फिर्ता

एमालेले अवरोध गर्दागर्दै रेल्वे विधेयक फिर्ता

प्रतिनिधिसभामा विचाराधीन रेल्वे विधेयक फिर्ता भएको छ । प्रमुख प्रतिपक्ष एमालेको अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठकले विधेयक फिर्ताको प्रस्ताव पारित गरेको हो ।

राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रियसभामा पठाइएको थियो । आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता लिन सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको थियो ।

यता, आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै चालू अधिवेशनको पहिलो बैठकदेखि संसद अवरुद्ध गर्दै आएका एमाले सांसदले आज पनि बैठक प्रारम्भ हुनेबित्तिक्कै नारावाजी गरेका थिए । उनीहरुले ‘संसदीय सर्वोच्चता कायम गर’, ‘गोली हान्न पाइँदैन-जनता मार्न पाइँदैन’ भन्दै नारावाजी गरे ।

एमाले संसदहरुको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक कार्यसूचीमा प्रवेश गराउनु भएको थियो । त्यसपछि बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाउनु भयो ।

एमाले सांसदहरुले नाराबाजी नरोकेपछि प्रतिनिधिसभाको अर्को बैठक कात्तिक ४ मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

टिप्पणीहरू