केन्द्रीय सुरक्षा समितिको निश्कर्ष : आत्मसुरक्षाको लागि सुरक्षाकर्मीद्वारा गोली प्रहार

केन्द्रीय सुरक्षा समितिको निश्कर्ष : आत्मसुरक्षाको लागि सुरक्षाकर्मीद्वारा गोली प्रहार

गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान बोलाउनु भएको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक केहीबेर अघि सकिएको छ । हिजो बुटवलको मोतिपुरमा चार जनाको ज्यान जाने गरी भएको घटनाको समीक्षा गर्न मन्त्री खाँणले सुरक्षा निकायका पदाधिकारीहरुसँग आकस्मिक छलफल गर्नुभएको थियो ।

हिजोको घटनामा डेढ दर्जन सर्वसाधारण र झण्डै चार दर्जन सुरक्षाकर्मी सख्त घाइते भएका छन् । मन्त्रालय स्रोतका अनुसार बैठकमा अन्य विषयमा समेत छलफल भएको छ । मन्त्री खाँणले घटनाको समीक्षा गर्दै यसको कारण र आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन मन्त्रालयले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल केन्द्रित भएको हो ।

बैठकमा सुरक्षाकर्मीले संयमता अपनाउँदा पनि धर्नाकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर पेट्रोलबम प्रहार गरेपछि आत्मसुुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालिएको छ । बुटवलको पछिल्लो अवस्था शान्त रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुँवरले बताउनुभएको छ ।

हिजो झडपमा परेर ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख राहत तथा क्षतिपूर्ति दिने भएको छ । थप राहत तथा क्षतिपूर्तिबारे गृहमन्त्रालयले भने अझै सल्लाह र निर्णय नगरेको मन्त्रालय स्रोतले बताएको छ ।

झडपमा चार जना सर्वसाधारणले ज्यान गुमाएका छन् । सर्वसाधारण,सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ८१ जना घाइते भएको जानकारी दिइएको छ । घाइते चार जना सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू