पर्शुरामलाई खेलाडीको पल्टन

पर्शुरामलाई खेलाडीको पल्टन

-पूजा लम्साल

दूरगामी महत्वका कुनै पनि निर्णय नगर्न विपक्षी दलहरुले गरेको आग्रहलाई लत्याउँदै धमाधम एकपछि अर्को महत्वपूर्ण निर्णय गरिरहेको मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले पर्शुराम बस्नेतलाई प्रदेश १ खेलकुद विकास समितिको सदस्य सचिव नियुक्त गरेको छ ।

आफूविरुद्ध समाचार लेख्ने पत्रकारमाथि सांघातिक आक्रमण गराएको र नाइके बनेर गुण्डागर्दी गराएकोमा उनलाई मुद्दा लागेको थियो । त्यसैगरी अकुत सम्पत्ति थुपारेको आरोपमा मुद्दा खेपेर सफाइसमेत पाएका पर्शुरामलाई जाँदा जाँदै अल्पमतमा परेको आचार्य नेतृत्वको सरकारले हिजोको क्याबिनेट बैठकबाट समितिको सदस्य सचिवमा नियुक्त गरेको हो ।

आचार्यले समितिको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्बो, सदस्यमा सुनसरीका भेषराज कार्की,विप्लव घोष र ओखलढुंगाका थलु राजभण्डारीलाई नियुक्त गरेका छन् । उनीहरुलाई नियुक्त गर्ने प्रस्ताव सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद्मा लगेका हुन् ।

पर्शुरामलाई प्रदेश खेलकुद समितिको सदस्य सचिव बनाउन प्रथम समाजिक विकासमन्त्री जीवन घिमिरेलाई यसअघि नै चर्को दबाब परेको थियो । तर उनले आलटाल गर्दै प्रस्ताव तत्कालीन मुख्यमन्त्री शेरधन राईसमक्ष लैजान इन्कार गरेका थिए । मुख्यमन्त्री राईले पनि पर्शुरामलाई सदस्य सचिवमा नियुक्त गरेर आफनो नेतृत्वमा दाग लगाउन नचाहेको त्यतिबेलै बताइएको थियो । तर मुख्यमन्त्रीमा आचार्य नियुक्त भएपछि एमाले महासचिव ईश्वर पोखरेलको निर्देशनमा पर्शुराम सदस्य सचिव बन्न सफल भएको भन्नेहरु धेरै छन् ।

दोलखा थातथलो भएर बिराटनगर बस्दै आएका पर्शुराम ठेक्कापट्टा हत्याउन नाइके बनेर गुण्डाहरुको समूह परिचालन गर्दथे । गुण्डागर्दीसँगै एमालेको राजनीतिमा प्रवेश गरेका उनी तत्कालीन युथफोर्स मोरङको अध्यक्ष हुँदै युवा संघको केन्द्रीय लेखा आयोग सदस्यसम्म बने । अहिले उनी एमाले खेलकुद महासंघको केन्द्रीय पदाधिकारी छन् ।

अर्का गुण्डा नाइके बिराटनगरका अभिषेक गिरीसँग कट्टर शत्रुता रहेको भन्ने समाचार लेखेकै कारण पत्रकार खिलानाथ ढकाललाई मरणासन्न कुटपिट उनैले गराएका थिए । उक्त गुण्डागर्दीको विरोधमा नेपाल पत्रकार महासंघ मोरङले एक महिनासम्म आन्दोलन गरेको थियो भने देशव्यापी आन्दोलनसमेत केन्द्रीय समितिले घोषणा गर्नुपरेको थियो ।

त्यसलगत्तै फरार भएका पर्शुराम अदालतमा उपस्थित भएको केही समयपछि रिहा भएका थिए । तात्कालीन मोरङ प्रहरीका एसपी प्रद्युम्न कार्कीले पर्शुरामविरुद्ध अकुत आर्जन गरेको आरोपमा सम्पत्ति शुध्दिकरण विभागमा मुद्दासमेत दर्ता गराएका थिए ।

पर्शुराम समूहले २०६४ मा अदालत परिसरमा अर्का गुण्डा नाइके गिरीलाई सांघातिक आक्रमण गरेको थियो । गुण्डागर्दीकै कारण पर्शुराममाथि पटक पटक गोली प्रहार भएको थियो । पछिल्लो समय गोली प्रहार हुँदा सख्त घाइते भएका उनी बिराटनगरको नोबेल अस्पतालमा लामो उपचारपछि निको भएका हुन् ।

यसैगरी दूरगामी निर्णय नगर्न विपक्षीहरुले आग्रह गरे पनि अल्पमतमा रहेर समेत संविधान मिचेर टिकिरहेको भीम आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्डमा पनि पदाधिकारीहरु नियुक्त गरेको छ । प्रदेश सरकारले बिराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बका भीमराज राई, धनकुटाका उमेश घिमिरे, इटहरीका प्रेरणा थापा र बिर्तामोडका इन्दिरा श्रेष्ठलाई बोर्डमा नियुक्त गरेको हो ।

उनीहरुलाई नियुक्त गर्ने प्रस्ताव उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लछुमन तिवारीले लगेका थिए । मन्त्रालयका सचिव नै सदस्य सचिव रहने पर्यटन समिति ११ सदस्यीय रहने व्यवस्था छ । बाँकी प्रदेश सरकारको मन्त्रालयका अधिकृत, कार्यालयका प्रतिनिधि र महाशाखा प्रमुख रहन्छन् ।

टिप्पणीहरू