अब काठमाडौँ महानगरको आफ्नै भवन

अब काठमाडौँ महानगरको आफ्नै भवन

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । आज मेयर बिद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणकोे शिलान्यास गर्नुभएको हो ।

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको बताइएको छ । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ ।

भवनभित्र नेवारी शैलीको चोकहरु रहने छ । भवन संरचनाअनुसार प्रत्येक तल्लामा कार्यालयहरू,बैठक हल, प्रशासन,कर्मचारी,आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि ठाउँ छुट्याइएको छ ।

विपदको समयमा प्रयोग गर्न सकिने गरी आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहने छ । सुन्धारास्थित अहिलेको भवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारण नयाँ शुरुआत गर्नुपरेको मेयरले बताउनुभयो ।

महानगरका सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीमा निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता र संस्कृति झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताउनु भयो ।

महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ ।

भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

टिप्पणीहरू