नयाँ अवतारलाई निमन्त्रणा

राष्ट्रियसभा निर्वाचनको समाप्तिसँगै अब नयाँ सरकार गठनको अवरोध हटेको छ । बरु, नयाँ सरकारका सम्भावित सहयात्रीहरू भनेर चिनिएका एमाले र माओवादीका आन्तरिक र आपसी बेमेलहरूले पो कतै विलम्ब गराउने हो कि भन्ने चिन्ता छ ।

मुलुकलाई नयाँ ढंगले अगाडि बढाउन र एकसूत्रीय रूपमा संविधानको पूर्ण कार्यान्वयन तथा राष्ट्र विकासको गतिलाई तीव्रता दिन, जनताले दिएको म्याण्डेट सार्थक बनाउन वाम दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्ने देखिएको छ । प्रदेशको नेतृत्व सम्हाल्ने विषयमा एमाले र माओवादीले अति सहजतासाथ जुन निर्णय गरे अब दलभित्रका पद आकांक्षीहरूको हकमा पनि त्यही सहजता र त्यागको वातावरण निर्माण गर्न नेताहरूले अभिप्रेरित गर्नुपर्ने देखिन्छ । हुन त गुटगत समस्याले वाम दललाई विगतमा जति पिरोल्ने गरेको थियो त्यही मात्रामा समस्या सिर्जना गरेको देखिएको छैन । तथापि गुटगत तुष बोकेर कसैले जितेको र अर्कोले हारेको महसुस गरे भने त्यसले दुई वामबीच अपेक्षा गरिएको पार्टी एकतालाई समेत समस्या पार्न सक्छ ।

त्यसैले अब दलहरूले विगतका अनुभवबाट पाठ सिकेर नयाँ नेपाल निर्माणको महान अभियानमा पूर्णतया नयाँ ढंगले आफूलाई होम्न जरुरी छ । विगतमा दलका आन्तरिक गुटले अनायास र अनपेक्षित सरकार परिवर्तन हुने गरेको यथार्थलाई ध्यानमा राख्दैै त्यस्तो वातावरण बन्न नदिने कुरामा शीर्ष नेतृत्व चनाखो बन्नुपर्ने देखिन्छ । त्यसो त पार्टी फुटाउने र आफूभित्रै अर्को समानान्तर पार्टी चलाउनेहरू कालान्तरमा पंगु बन्ने गरेको दृष्टान्तलाई मात्र ध्यानमा राख्ने हो भने त्यस्तो तीतो अनुभवको पुनरावृत्ति हुँदैन । 

चाहे जे होस्, आमअपेक्षा भनेको अब बन्ने नयाँ सरकारमा पुरानो सरकारको गन्ध नआओस् भन्ने हो । उही पात्र दोहोरिनेमा शंका भएन तर त्यही प्रवृत्ति भने नयाँ मन्त्रीहरूले नदोहो¥याउन् भन्ने नै हो । सत्ताको उन्माद अबका नेता र मन्त्रीमा नदेखियोस् । सत्तारुढ दलका नेता–कार्यकर्ता विगतमा झैं ‘रजिस्टर्ड दलाल’ को भेष र हैसियतमा सिंहदरबारमा नदेखिउन् । काममा चुस्तता आओस् । आम नागरिकले विश्वास गर्न सक्ने वातावरण निर्माणलाई नयाँ सरकारले प्राथमिकतामा राखोस् । यी र यस्ता थुप्रै कामना छन्, वाम गठबन्धनलाई मत दिनेहरूको । वामप्रति विश्वास नगरेका मतदाताको पनि मन पलाउने काम नयाँ सरकारले गर्नका लागि अब सबैले नयाँ अवतारमा प्रस्तुत हुनु जरुरी छ । आशा छ, त्यो आवश्यकताबोध वाम नेताहरूले गर्नेछन् ।

टिप्पणीहरू