गोलीकाण्डपछि अहिले गृहमा आकस्मिक केन्द्रीय सुरक्षा बैठक

गोलीकाण्डपछि अहिले गृहमा आकस्मिक केन्द्रीय सुरक्षा बैठक

हिजो बुटवलमा गोली प्रहारबाट चार जनाको मृत्यु र ६० जनाभन्दा बढी सख्त घाइते भएको हिंसात्मक घटनापछि अहिले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की,प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति छ ।

हिजो रुपन्देहीको मोतिपुरमा भएको हिंसात्मक घटनामा चार जना सर्वसाधारणको मृत्यु भएको छ । जनतातर्फ १० जना घाइते भएका छन् । त्यसैगरी प्रहरीतर्फ २४ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलतर्फ पनि त्यत्तिकै संख्यामा घाइते भएको बताइएको छ ।

प्रहरीको गोली प्रहारबाट ज्यान गुमाउनेहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका अन्दाजी वर्ष २० का रमेश परियार रहेको अस्पताल स्रोतले बताएको छ । मृतक अन्य तीन जनाको नाम र ठेगाना खुलेको छैन । ती तीन जनामा २० वर्षका एक जना र ४५ वर्षका २ जना पुरुष छन् । उनीहरु सबैको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको हो ।

हिजोको घटनामा १७ जना सर्वसाधारण सख्त घाइते भएका छन् । मेडिकल कलेज भैरहवामा उपचार गराएका घाइते सर्वसाधारणहरुमा नवलपरासीको बर्दघाट निवासी २३ वर्षका विजय सहानी र ३० वर्षका विष्णु परियार छन् । त्यसैगरी सैनामैना ८ का सन्तोष बिक,पाल्पाको तिनाउ २ का १९ वर्षका समिर थापा पनि सख्त घाइते भएका छन् ।

उता बुटवलका ३२ वर्षका टुकबहादुर बुढाप्रिती,६० वर्षका ज्ञानबहादुर गुरुङ,६२ वर्षका मनरुमा झा,२२ वर्षका सुजन थापा, ३० वर्षका सुजन परियार र ५० वर्षका त्रिचन्द्र कुर्मीको पनि भैरहवामा उपचार भइरहेको छ ।

पाल्पा रिब्दीकोट २ का ४० वर्षे भीमबहादुर कामी,पाल्पाकै ४२ वर्षे गम्भीर सिंह, नवलपरासीको प्रतापपुर ६ का ३२ वर्षे सवेश केवट, गुल्मीका ३३ वर्षे जंगबहादुर परियार, अर्घाखाँचीको बल्कोटका २५ वर्षे मेखबहादुर कुमाल र पाल्पाका ४० वर्षे प्रेम कामी पनि सख्त घाइते भएका छन् ।

प्रहरीतर्फ नायव निरीक्षक नवीन चालिसेसहित २४ जना घाइते भएका छन् । तीमध्ये २ जना महिला प्रहरी हुन् । सशस्त्र प्रहरी बलतर्फ पनि त्यत्तिकै संख्यामा घाइते भएको बताइएको छ ।

हिजोको घटनामा प्रहरीले ४ दर्जनभन्दा बढी राउण्ड गोली र डेढ सय सेल अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले हिजो एसएलआर, पेस्तोल र सटगनलगायतका हतियार प्रयोग गरेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बलले पनि एसएलआरबाट १४ राउण्ड गोली र ७० सेल अश्रु ग्याँस प्रहार गरेको थियो । प्रहरीको तीन दर्जन सिलढालमा क्षति पुगेको छ भने लाठीसमेत चार दर्जन भाँचिएको मन्त्रालय स्रोतले दाबी गरेको छ ।

टिप्पणीहरू