थाङ्कामा लुकाएर चरेस ओसारपसार ?

थाङ्कामा लुकाएर चरेस ओसारपसार ?

नेपालबाट हङकङमा चरेश सप्लाई गर्ने एउटा गिरोह समातिएको छ । प्रहरीले असोज १४ गते हङकङ पठाउन ठिक्क पारिएको ७ केजी ९ सय ७७ ग्राम चरेससहित ७ जनालाई कार्गोबाट समातेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले मानभवनस्थित ब्लूस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र त्यसमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेशसहित अन्जित थापालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोकका ३० वर्षीय सुजन श्रेष्ठ,सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्साका दिनदयाल महतो उराव, दिपेन्द्र महतो उराव, मकवानपुरका ४५ वर्षीय रबि मुक्तान,धादिङका २३ वर्षीय मोतीलाल तामाङ छन् ।

प्रहरीले शुरुमा अन्जितलाई समातेर अनुसन्धान गरेकोमा उनलाई लागुऔषध दिने सुजन पनि तानिएका हुन् । सुजनसंग सोधपुछ गर्दा जालिन्द्रबाट लागुऔषध लिएको पत्ता लागेपछि अरु पनि पक्राउ परेको प्रहरीको भनाइ छ ।

जालिन्द्रको कोठा खोजतलास गर्ने क्रममा सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टीभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल टेप बरामद भएको प्रहरीले जनाएको छ ।

असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेश, ३ थान डिजिटल तराजू, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँसहित दिनदयाल र दिपेन्द्र महतो पक्राउ परे ।

सोही दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई पनि उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम चरेशसहित प्रहरीले पक्राउ गर्यो । असोज १६ गते रविलाई चरेश उपलब्ध गराउने मोतीलाल २ ग्राम ५ सय मिलीग्राम चरेशसहित समातिए । उनले धादिङलगायत विभिन्न स्थानबाट चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

टिप्पणीहरू