एउटा वकिल बार्गेनिङ्ग गर्ने,अर्काेले किन ज्यान फाल्ने ?

एउटा वकिल बार्गेनिङ्ग गर्ने,अर्काेले किन ज्यान फाल्ने ?

यी वकिलहरु के भएका होलान् ? कोही खुलेआम मोलमोलाइ गर्छन् त कोही जीवनलाई नै व्यर्थ ठान्दै आत्महत्याको बाटो रोज्छन् । चितवनका एकजना अधिवक्ता ठगी कसूरमा समातिएको भोलिपल्ट चितवन नै घर भएका अर्का वकिल नदीमा डुबेर बेपत्ता भएका छन् ।

गत असोज ११ गते साँझ ६ बजे नवलपरासीको गैंडाकोट–२ स्थित नारायणी पुलबाट वकिल नन्दुराज आचार्य हाम फालेको प्रहरीले सिसिटिभीबाट पत्ता लगाएको हो । ४५ वर्षीय नन्दु आफूसँग भएको पर्स,जुत्ता,मोबाइललगायतका सामान पुलमै राखी नदीमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय,गैंडाकोट बताउँछ ।

भरतपुर–१३ घर भई काठमाडौंमा बसेर वकालतको काम गर्ने नन्दु किन नदीमा हामफाले त ? यस विषयमा अनुसन्धान भइरहेको भन्दै हामफालेको कारणबारे अहिल्यै केही बताउन नमिल्ने इप्रका गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको भनाइ छ । नन्दु भरतपुरमा जिल्ला अदालतअगाडि बसेर काम गर्ने अधिवक्ता धर्मराज आचार्यका भतिज हुन् ।

“चितवनकै रत्ननगर निवासी रेग्मी काठमाडौंमा नन्दुले नै मुद्दा हेरेका क्लायन्ट हुन् । नन्दु नदीमा हामफालेकै दिन पनि उनीहरुबीच फोन सम्पर्क भएको देखिन्छ ।”

हरिप्रसाद रेग्मी भन्ने व्यक्तिले दिएको टर्चरका कारण आफू मर्नु परेको भनी नन्दुले लेखेको पत्र फेला परेको धर्मराज बताउँछन् । बताइएअनुसार चितवनकै रत्ननगर निवासी रेग्मी काठमाडौंमा नन्दुले नै मुद्दा हेरेका क्लायन्ट हुन् । नन्दु नदीमा हामफालेकै दिन पनि उनीहरुबीच फोन सम्पर्क भएको देखिन्छ ।

घटनाको १३ औं दिन अस्ति शनिबार हामफालेको देखिएको ठाउँमा (गैंडाकोटबाट नारायणगढ जाँदा पुलको देब्रेतर्फ बिजुलीको तेस्रो खम्बानिर) हामफालेकै समयतिर परिवारजन तथा इष्टमित्रले बत्ती बालेर स्वस्ति–शान्ति गरेका छन् ।

यता,कालिका नगरपालिका–५, पदमपुर घर भई चितवन जिल्ला अदालत अगाडि ल फर्म चलाउने अधिवक्ता रामचन्द्र देवकोटाले चाहिँ आफैंले लेखेको जाहेरीका विषयमा प्रतिवादीसित रकमको बार्गेनिङ गरेको बताइएको छ । उनले ‘दर्ता नगरुँला, म मिलाउँछु’ भन्दै रकम मागेको बुझिएको छ ।

‘राहुल गुप्तासमेतका ८ जनाले झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिएको हुँदा कारबाही गरी पाउँ’ भनी भारत घर भएका सतिश कुमारले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त पेश गरेका थिए ।

“चितवन जिल्ला अदालतअगाडि ल फर्म चलाउने अधिवक्ता रामचन्द्र देवकोटाले चाहिँ आफैंले लेखेको जाहेरीका विषयमा प्रतिवादीसित रकमको बार्गेनिङ गरेको बताइएको छ ।”

त्यो जाहेरी लेखेका रामचन्द्रले दर्ता नहुँदै ‘उक्त मुद्दा म मिलाइदिन्छु, प्रत्येक व्यक्तिको रु. तीन लाखका दरले पैसा लाग्छ, प्रहरीलाई पनि दिनुपर्छ, समयमै केश मिलाउनुभएन भने इन्टरपोलबाट छानबिन भई कडा कारबाही हुन्छ’ भनी गुप्तासमेतलाई पटक–पटक फोन गरी रकम माग गरेका हुन् ।

यससम्बन्धमा भरतपुर–३ बस्ने ४१ वर्षीय गुप्ताले ठगी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि असोज १० गते पक्राउ परेका ५० वर्षीय देवकोटा यही १९ गते ३० हजार धरौटीमा छुटेको चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

देवकोटाले इन्स्पेक्टर,डीएसपीलगायतको दर्जा नै खुलाएर पैसा मागेको बुझिन्छ । ‘माग गरेको देखिन्छ,लिइसकेको छैन’, प्रहरी नायव उपरीक्षक थापाले भने, ‘उनीविरुद्ध जिल्ला अदालतमा ठगी उद्योगमा मुद्दा चलाएका छौं ।’

राहुल गुप्ताहरुको कीर्ते नागरिकताको विषयमा उनीहरुले सुनसरी जिल्लाबाट नागरिकता लिएको हुँदा यहाँ दर्ता नभएको बताउँदै प्रनाउ थापाले भने, ‘चितवन जिल्लाअन्तर्गत नभएकोले सक्कल जाहेरीसहित आवश्यक कारबाहीका लागि सुनसरी नै पठाएका छौं ।’ – अजय गोर्खाली

टिप्पणीहरू