​फोनले पनि पार्छ है फन्दामा !

गर्भवती श्रीमतीलाई छाडेर कहाँ गए त पति ? असारदेखि बेपत्ता भएका ओम सायद अब फर्किने छैनन् । बच्चासमेत जन्मिएर पाँच महिनाको भइसकेको छ । नाताले मामा पर्ने गणेश सापकोटाले कहिले उनी अर्कै केटी लिएर नफर्किने गरी गएको त कहिले लास नारायणीमा खोजे पनि नपाउने भनेको पीडित परिवारजन बताउँछन् ।

चितवनको माडी–१, भंगता घर भएका २५ वर्षीय ओमबहादुर क्षेत्री घर बनाउने मिस्त्री । काम प्रायः नारायणगढ, गैंडाकोटतिर । साथीसँग यतै कोठा भाडामा बस्ने । पेटमा बच्चा भएकी पत्नीलाई ससुराली भरतपुर–११, गणेशस्थानमा ल्याइराखेका । सम्पर्कविहीन भएको चार दिनपछि लत्ताकपडा, भाँडाकुँडालगायत पर्सचाहिँ आइपुग्यो । सँगै काम गर्ने प्रकाश दराईले कामको सिलसिलामा उनी माडी गएकाले मामा गणेशले सामान पु¥याइदिनू भनेको बताएको पत्नी पूजा बताउँछिन् । गणेशसितै सोधपुछ गर्दा त्यसरी अनेक जवाफ दिएको बताइएको छ ।
बताइएअनुसार लामो समयदेखि उपलब्ध हुन नसकेको ओमको मोबाइल नम्बरमा एकदिन अचानक सानिमा सासूले गरेको फोन लाग्यो । उताबाट सरीता दराई बोलेको भनियो । मोबाइल कहाँबाट पाएको ? भनी सोध्दा आफ्नो भाइ प्रकाशले दिएको उनले बताएपछि ओमका परिवारले जिल्ला प्रहरी कार्यालयमा यी सबै कुराको जानकारी गराए ।

भंगता नै घर भएका गणेश बढीजसो इण्डिया जाने–आउने । खोजतलासकै क्रममा पिताले आफ्ना छोरा र गणेशकी श्रीमतीबीच पटक–पटक फोन र म्यासेज आदान–प्रदान हुने गरेको पत्ता लगाएछन् । प्रकाश र गणेशको गतिविधि एवं मोबाइल सम्पर्कसमेतको स्थितिलाई केलाएर हेर्दा उनीहरूले नै ओमको हत्या गरी नारायणी नदीमा फालेको जिकिर गर्दै पिता बमबहादुरले यही माघ २ गते जिप्रकामा किटानी जाहेरी दिएका छन् । प्रहरीले दुवै आरोपितलाई समातेर अनुसन्धान गरिरहेको बताएको छ । कल रेकर्डकै आधारमा गैंडाकोटकी एउटी महिला पनि यो अनुसन्धानको घेरामा परिन् । झण्डै तीन हप्ता हिरासतमा रहेर हाल तारेखमा छुटेकी छन् निशा परियार । उनले प्रकाश र आफूबीच लेनदेनको व्यवहार रहेको हुँदा फोन सम्पर्क बढी भएको भन्दै प्रहरीकै सामु निजसितको हरहिसाब राफसाफ भइसकेको बताइन् । 

– अजय गोर्खाली

टिप्पणीहरू