दशैंमा झण्डा हल्लाउँदै मावली र ससुराली जान मन्त्रीलाई सुविधा छैन : राजेन्द्र पाण्डे

दशैंमा झण्डा हल्लाउँदै मावली र ससुराली जान मन्त्रीलाई सुविधा छैन : राजेन्द्र पाण्डे

बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दशैं शुरु भए पनि प्रदेश सरकारका मन्त्रीहरुलाई झण्डा हल्लाउँदै मावली र ससुराली जाने इच्छा भए पनि परिस्थितिले त्यो सुविधा नदिएको बताउनुभएको छ । उहाँले आजदेखि शुरु भएको प्रदेशसभाको बैठकमा बोल्दै उक्त कुरा राख्नुभएको हो ।

नेता पाण्डेले विश्वासको मत लिने प्रस्तावलाई तत्काल अघि बढाएर जतिसक्दो छिटो निर्क्यौलमा पुर्याउन सभामुखलाई आग्रह गर्नुभएको छ । उहाँले मन्तव्य राख्ने क्रममा भन्नुभयो, ‘कता–कता मन्त्रीहरुलाई लाग्दो होला,सरकारी गाडीमा झण्डा हल्लाउँदै दशैंमा मावली र ससुराली जाऔंला भन्ने तर अल्पमतमा परिसकेको सरकारको मन्त्रीले त्यसो गर्न उचित होला र !’

माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जमरकट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव आजै नभए भोलिसम्म टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसको प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियालाई सभामुखले जतिसक्दो छिटो निष्पक्ष ढंगले अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।

तर,मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने बताइएको छ । शाक्यले प्रदेशसभामा आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव टेबल गर्ने कार्यसूची भए पनि विश्वासको मत आज नलिने बताइएको छ ।

टिप्पणीहरू